

असार १५ डोटी । डोटीमा पनि भव्यताका साथ धान दिवस मनाइएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले तथा संघसंस्थाहरुले “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाएका हुन् ।
यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस कृषि ज्ञान केन्द्र डोटी र आदर्श गाउँपालिकाले संयुक्त रूपमा मनाएका छन् । आदर्श गाउँपालिका वडा नम्बर १ बाझ सालगाउँमा रोपाइ दिवस मनाइएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थिले जानकारी दिए ।
स्थानीय शेर बहादुर खड्काको खेतमा मनाइएको रोपाई दिवसमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, प्रहरी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
जिल्लाको बडिकेदार गाउँपालिका, शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, के.आई.सिंह गाउँपालिका र सायल गाउँपालिकाले पनि आ–आफ्नै पालिकाका किसानको खेतमा पुगेर धान दिवसलाई हर्ष र उल्लासका साथ मनाएका छन् ।
