
डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी एक वेपत्ताको शव फेला परेको छ। शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् । बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो । प्रहरी र स्थानीयबासीहरूको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
