नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र अब सूचना प्रविधि हो : मन्त्री शर्मा 

२४ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्य योजना बनाउनुपर्ने बताउनुभएको हो ।
आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उहाँले स्पष्ट गर्नुभयो । नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो । विश्वब्यापीरुपमा नवीन प्रविधिको रूपमा विकास र प्रयोग हुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणा पत्र तयार गरिएको जानकारी दिँदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानुन बन्ने बाटो खुलेको बताउनुभयो ।
Sayalb
तीव्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकास, प्रवर्धन र नियमन गर्न तथा साइबर सुरक्षा र साइबर स्पेसका डाटा सुरक्षाका प्रावधान समेत समेटी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको जानकारी दिनुभयो । दूरसञ्चार विधेयकको मस्यौदामा पृष्ठपोषणको लागि आज मात्रै मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी दिँदै उहाँले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको मस्यौदामाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सहमति प्राप्त भई मन्त्रिपरिषद्मा पेस बताउनुभयो ।
सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा स्थापित गर्न सफल हुनु मुलुककै रूपान्तरणका लागि ठुलो छलाङ उल्लेख गर्दै मन्त्री शर्माले यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रूपमा लिने गरिएकोमा अब नवीनतम आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा सूचना प्रविधि थप भएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो– ‘आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ वर्षको रूपमा लिई तद् अनुरूपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ ।’
मन्त्रालय एआई नीतिको तयारीमा जुटेकाले यसका लागि आवश्यक सहयोग गर्न उहाँले विज्ञहरूसँग आग्रह गर्नुभयो । परिस्थितिअनुसार राजनीतिक नेतृत्व परिवर्तन हुने भए पनि यसबाट मुलुकले लिन खोजेको राष्ट्रिय दायित्वमा कुनै असर पर्न नहुनेमा जोड दिँदै उहाँले यसमा विज्ञहरूको राय सुझाव महत्त्वपूर्ण हुने र प्रविधि क्षेत्रका नीति कानुन बनाउँदा जतिसक्दो धेरै गैर प्राविधिक क्षेत्रले बुझ्न सक्ने भाषा शैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
एआई विज्ञ सिमोन ढुङ्गानाले एआईको विकास र प्रयोगमा कयौँ देशहरू अलमलमा रहेको बेलामा नेपालमा यससम्बन्धी नीति तयार पार्न पहल लिनु अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण प्रयास मानिने बताउनुभयो । मन्त्री शर्माको सफल नेतृत्व र तदारुकताका कारण छोटै समयमा नीतिगत र व्यवहारिक रूपमा नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको भन्दै यो देशका लागि ठुलो उपलब्धि भएको उहाँको टिप्पणी थियो । कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गर्नुभएको थियो ।
Shaileshwori
Loading...