तेजबहादुर डुम्रेल
असार २९, डोटी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारी डोटी जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । भदौ ५ गते हुन गइरहेको जिल्ला सम्मेलन सफल पार्न अनेरास्ववियू क्रान्तिकारी डोटी तयारीमा जुटेको हो । तयारी स्वरूप शनिवार डोटी बहुमुखी क्याम्पसको सभाहलमा अनेरास्ववियूको छैटौँ बैठक विभिन्न निर्णयहरू पारित गर्दै सम्पन्न भएको कार्यवाहक अध्यक्ष योगेन्द्र भट्टले बताए । सङ्गठनका केन्द्रीय उपमहासचिव दीपक रोकायाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको भट्टले बताए ।
बैठकले सदस्यता विस्तार, विभिन्न कार्यभार विभाजन तथा सम्मेलन सफल पार्ने लगायतका निर्णय पारित गरेको कार्यवाहक अध्यक्ष भट्टले बताए । बैठकमा नेकपा माओवादी केन्द्र डोटीका जिल्ला सचिव डबल बहादुर सिंह, सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष द्वय वीर बहादुर थापा, गोकुल बिसी, सङ्गठनका जिल्ला इन्चार्ज शाजेन्द्र कोली लगायतका विद्यार्थी नेताहरू सहभागी थिए ।