
साउन ११, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो । यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।
