धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्याँस प्रहार

साउन १२, कैलाली । धनगढीको नोभा अस्पतालमा ढुंगामुढा भएको छ । शुक्रवार कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएपछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको हो ।
मृतकका आफन्तले शनिवार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् । अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्याँस प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको हो ।
मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले मृतकको शव उठाउन समेत मानेका छैनन् । उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ ।
Sayalb
नसिभ साउन ७ गते उपचारका लागि नोभा अस्पताल गएका थिए । अस्पतालले उनलाई जन्डिस भएको जानकारी गराउँदै भर्ना गरेको थियो । त्यस क्रममा शुक्रवार उनको मृत्यु भएको हो ।
मृतकका मामा रामकृष्ण चौधरीका अनुसार अस्पतालले सुरुमा अर्को अस्पतालमा लैजान्छौँ भन्दा लान नदिएको र अन्तिम समयमा मुटुको डाक्टर नभएको बताएर नेपालगन्ज लैजान भनेको थियो । तर पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको र समयमै राम्रो अस्पतालमा पुगाउन पाएको भए भान्जाको मृत्यु नहुने चौधरीको भनाइ छ । शनिवार बिहान छलफल चलिरहेका बेला एक्कासि अस्पतालमा ढुंगामुढा भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले वार्ताको प्रयास भइरहेको उनले बताए ।
Shaileshwori
Loading...