मञ्जु मलासीः नगरको रूप फेर्दै हक्की मेयर
मुकेश पोखरेल
डोटीको दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले उद्देश्यमा स्पष्टता र कार्यसम्पादनमा निडरताको परिचय दिंदै काम शुरू गरेको साढे दुई वर्षमै नगरमा उदाहरणीय काम गरेकी छिन्। १३ असोजको दिन घाम पश्चिम पहाडमा सुस्ताउने तर्खर गर्दैछ, डोटीको पुरानो सिलगढी बजारबाट शैलेश्वरी मन्दिर जोड्ने सडकको किनारमा कामदारहरू धमाधम नाली बनाइरहेका छन्। अघिल्तिर डोजरले बाटो विस्तार गरिरहेको छ। सडकमा काम गरिरहेका मजदूरसँगै छिन्, दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासी।
उनी आफैं सडक निर्माणको निगरानीमा बसेर डोजरका चालकलाई सडकछेउमा भत्काउनुपर्ने पर्खाल र पेटीका बारेमा निर्देशन दिन्छिन्। “म यहाँ नहुने हो भने सडक अतिक्रमण गरेका घरधनीले डोजरको काममा अवरोध पुर्याउँछन्, मलाई देखेपछि कसैले यहाँ बोल्ने हिम्मत गर्दैनन्”, सडक विस्तारमा आफू खटिनुको कारणबारे उनले भनिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मलासीले तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेर जित हात पारेकी हुन्।
बेला जनतासँग गरेका वाचामध्ये करीब ८० प्रतिशत काम निर्वाचित भएको अढाई वर्षमै पूरा गरेको उनी बताउँछिन्।
निडर नगरप्रमुख
सिलगढीमा मलासीको स्वभाव र व्यक्तित्वसँग परिचितहरू उनलाई हक्की र निडर नगरप्रमुखका रूपमा चिन्छन्। जिल्ला वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारी मेयर मलासीले प्रभावशाली रूपमा काम गरेको बताउँछन्। “सबै ठाउँमा मेयर आफैं खटेको देख्छु। उहाँ अगाडि उभिएपछि कसैले विरोध गर्ने हिम्मत गर्दैनन्”, तिवारी भन्छन्, “त्यसैले होला जहाँ समस्या देखा पर्छ, त्यहाँ आफैं अगाडि सरेर काम गराउनुहुन्छ।”
सिलगढीमा रहेको एउटा समस्या हो, सडक र सार्वजनिक जग्गाको अतिक्रमण। मेयर मलासीले अहिले त्यस्तो अतिक्रमण हटाएर खुला स्थान र सडक विस्तार गर्ने अभियान चलाइरहेकी छिन्। सडक र सडकपेटी अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने क्रममा आएका चुनौतीसँग उनी पौंठेजोरी खेलिरहेकी छिन्।
सिलगढीको इन्द्रचोकस्थित चौतारामा वर्षौंदेखि सेनाले काँडेतार लगाएर सडक ओगटेको थियो। जम्मा एक मिटरको मात्र सडक हुँदा मानिसहरुलाई हिंडडुल गर्न समस्या थियो। त्यो स्थानमा पनि उनले सडक विस्तार गर्ने आँट जुटाइन्।
त्यस क्रममा सेनाका मेजरसँग विवाद नै भएको उनी सम्झिन्छिन्। “सडक विस्तारका क्रममा विवाद हुँदा मैले ‘जनता हिंड्ने सडक कब्जा गर्न मिल्दैन, सबै जनताले जमीन दिने, तपाईंले दिन्न भन्न पाइन्छ?’ भनें”, उनी भन्छिन्, “त्यो काम फत्ते गरेकोमा जनताले मञ्जु मलासी मेयर भएर पो सेनासँग बाझेर सडक चौडा पार्न सकेको भनेर जस दिनुहुन्छ।”
त्यो ठाउँमा ठेकेदारलाई बाटो विस्तार गर्न लगाएर उनी काठमाडौं गइन्। तर, सेनाले बाटो खन्ने काममा अवरोध गरिदियो। दुई दिनसम्म काम रोकियो। उनी काठमाडौंबाट फर्किएपछि आफैं बसेर एक मिटरको बाटोलाई पाँच मिटरको बनाइन्।
सिलगढीको टुँडिखेल पनि सेनाले नै तारबारले घेरेर ओगटेको थियो। सार्वजनिक खुला स्थानको अभाव रहे पनि सेनाले जमीन कब्जा गरेकोमा कसैले प्रश्न गर्न सकेको थिएन। त्यहाँ पनि मेयर मलासीले सेनासँग समन्वय गरेर जमीन सर्वसाधारणको प्रयोगमा ल्याइन।
उनी आफूले सेनासँग समन्वय गरेर उक्त जग्गा कि त नगरपालिकाको नाममा हुनुपर्ने, होइन भने जनतालाई खेल्न दिनुपर्ने र त्यसका लागि नगरपालिकाले लगानी गर्ने प्रस्ताव राखेको बताइन्। “त्यो कुरा राख्दा सेना आफैं पछि हट्यो र अहिले यहाँ सर्वसाधारण घुम्न र युवाहरुले खेल्ने ठाउँ पाएका छन्”, उनी भन्छिन्, “सेना पनि खेल्न सक्ने र सर्वसाधारण पनि टुँडिखेलमा डुल्न र खेल्न सक्ने गरी सेनासँग सम्झौता भएको छ।”
वर्षौंदेखिको अतिक्रमण हटाउन कस्सिंदा उनलाई शुरूमा कसैले पनि पत्याएन। तर, कुनै काममा लागेपछि पछाडि नहट्ने उनको शैलीबारे अरुलाई अन्दाज नै थिएन। शुरूमा नापी ल्याएर अतिक्रमण गरिएको जग्गा छुट्याइन्, त्यसपछि अतिक्रमण गरी बनाइएका संरचना आफैं उपस्थित भएर भत्काउन लगाइन्।
“विगतदेखि कसैले पनि अतिक्रमण हटाउन नसकेका कारण यो महिलाले के सक्ली र भन्नेहरू पनि भए, तर मैले गरिसकेपछि भयंकर आँटिलो भन्छन्”, उनी भन्छिन् “म आफू बदमासी गर्दिनँ, बदमासी गर्ने कसैलाई पनि छोड्दिनँ। काम गर्ने क्रममा कसैले दिने धम्कीसँग डराउँदिनँ।”
स्त्रीद्वेषी समाजको मानसिकता चिर्दै
विगतदेखि नै दिपायल सिलगढी नगरपालिकामा खानेपानीको चर्को समस्या छ। जसका कारण महिलाहरू पानी लिन सास्ती भोग्दै धाउने गरेको मेयर मलासीले देख्दै आएकी थिइन्।
घरायसी काम महिलाको मात्र हो भन्ने सामाजिक मान्यताका कारण सुत्केरी महिला समेत धारामा पानी लिन, धान कुट्न, घाँस–दाउराको भारी बोक्न जानुपर्ने बाध्यता रहेको मलासी बताउँछिन्। सुत्केरी अवस्थामा गह्रौं काम गर्नुपर्दा धेरै महिलामा पाठेघरको समस्या थियो।
उनी मेयरमा विजयी भएपछि सबैभन्दा पहिला तिनै महिलाहरुको समस्यामा केन्द्रित भइन्। उनले प्रत्येक वडामा महिलाको स्वास्थ्य जाँचका लागि शिविर चलाएर पाठेघरको समस्या भएका महिलाहरुको उपचार गर्ने व्यवस्था मिलाइन्।
मलासीसँग महिलाहरूको सबैभन्दा ठूलो अपेक्षा खानेपानी व्यवस्थापनको थियो। उनले खानेपानी समस्या भएका स्थानहरुमा पानीको धारा पुर्याएकी छिन्। “विपन्न परिवारका लागि नगरपालिकाकै तर्फबाट धारा र पाइप दिएँ, आर्थिक रुपमा सक्षमलाई भने आफैं किन्न लगाएँ”, उनी भन्छिन्, “समाजमा पुरातन मानसिकता भएका कारण घरायसी कामको बोझ महिलाहरूमा थोपरिंदा ठूलो अन्याय भइरहेको छ। सुत्केरी महिला रगतका धारा बगाउँदै खोलामा कपडा धुन र घाँस–दाउरा गर्न जानुपर्ने बाध्यता छ।” महिलामाथि भइरहेको यस्तो शोषण र थिचोमिचो पूर्णरुपमा हटाउने योजना रहेको मलासी बताउँछिन्। २०४६ सालको आन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा होमिएकी मलासीको अनुभवमा अहिले पनि महिलालाई नेतृत्वमा पुर्याउने विषयमा हच्किने प्रवृत्ति छ। “महिलाहरुले के गर्न सक्छन् र भन्ने पुरुषवादी सोच हावी छ”, उनी भन्छिन्, “मेयरको टिकट पाउने क्रममा मैले पनि त्यस्ता कुरा सुन्नुपर्यो। तर, म गर्न सक्छु भनेर अगाडि बढें। अहिलेसम्म पार्टीका कुनै निकायका निर्वाचनमा पराजित हुनुपरेको छैन।”
-हिमाल खबर पत्रिकाबाट साभार