
चैत ९, डोटी । जिल्ला अस्पताल डोटीको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुक कम्युनिकेसनको सहजिकरणमा शनिवार अस्पतालको सामाजिक परीक्षण कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीले जिल्ला अस्पतालको सेवालाई थप गुणस्तरीय र विस्तार गर्दै लैजानुपर्ने बताएका छन् । अस्पताल ५० शैयाको बनाउन पहल गर्नुपर्ने, ९८ प्रकारका निःशुल्क औषधीहरू जिल्ला अस्पतालबाट केही औषधी नपाइने हुनाले त्यसको व्यवस्थापन हुनुपर्ने, अस्पतालको प्रशासनिक कार्यालय तथा शौचालय अपाङ्गतामैत्री बनाउनुपर्ने लगायतमा सहभागीहरूको जोड थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमाथि उठेका प्रश्न तथा जिज्ञासाहरूको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डलले जवाफ दिएका थिए । अस्पतालको सेवा विस्तार हुँदै गएको डा. मण्डलले बताएका छन् । भवनको अभावका बिच स्वास्थ्य निर्देशनालयले मूल्याङ्कन गर्ने न्यूनतम सेवा मापदण्डमा अस्पतालले ८८ प्रतिशत अङ्क पाएको र शल्यक्रियाको सङ्ख्या पनि बढ्दै गएको उनले बताएका छन् ।

साधन, स्रोत, उपलब्ध जनशक्ति र अहिलेको अवस्था हेर्दा जिल्ला अस्पताल डोटीले सेवाग्राहीको सहजताको लागि गरेको प्रयास सराहनीय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । प्रजिअ जोशीले अस्पतालको प्रयासका साथ साथै नागरिकले सेवाप्रति गर्ने गुनासो कम गर्न र सेवालाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार हुन जरुरी रहेको बताए । विभिन्न किसिमका समस्या भोग्दै बिरामी अस्पतालमा आउने हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले उनीहरूको समस्या बुझ्दै सेवा दिनुपर्ने र नागरिकहरूले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको ख्याल राख्नु पर्नेमा जोशीको जोड छ ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले अस्पतालका स्वास्थ्यकर्मीहरूलाई नम्र स्वभावका साथ सेवा प्रवाह गर्न आग्रह गरेका छन् । सेवा प्रवाहको क्रममा कहिलेकाहीँ स्वास्थ्यकर्मी अस्वाभाविक रूपमा प्रस्तुत हुने गरेको गुनासो बढ्दै गएकोले औषधीका साथै स्वास्थ्यकर्मीको राम्रो बोलीले पनि बिरामी निको हुने हुँदा नम्र भएर सेवा दिन प्रमुख सिंहले आग्रह गरेका हुन् ।
सामाजिक सुरक्षा इकाई बाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउँदै लगिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताएका छन् । शक्तिको आडमा सेवा प्रवाह भइरहेको गुनासो आउन थालेपछि त्यसको समाधानको लागि गृहकार्य भएको र चालु आर्थिक वर्षबाट त्यस्तो गुनासो सुन्न नपर्ने नेपालीले बताए । अध्यक्ष नेपालीले ३ वर्षे कार्यकाल सकिन लाग्दा पनि अस्पतालका केही स्वास्थ्यकर्मीले निर्देशनको पालना नगरेकोमा गुनासो गरेका छन् । सेवाग्राहीसँग गरिने व्यवहार परिवर्तन गर्न आफूले निर्देशन दिइरहेपनि त्यसो हुन नसकेकोमा उनले गुनासो गरेका हुन् ।
