
चैत १४, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा बाल श्रम निवारणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहिवार गाउँपालिकाको सभा हलमा बाल श्रम मुक्त वडा घोषणा गर्नका लागि गाउँपालिकाको सहयोग र रोजगार सेवा केन्द्रको सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकारको बालश्रम निवारण कार्यविधि २०७७ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र बोगटानलाई बालश्रम हेर्ने जिम्मेवारी तोके पश्चात् पालिकाको समन्वयमा यो कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाका सात ओटै वडाहरूमा अभिमुखीकरण कार्यक्रम गरिन लागिएको छ । कार्यक्रमको सहजकर्ताको रूपमा अरुण पाठक रहेका छन् ।

कार्यक्रमबाट १३ सदस्यीय वडा स्तरीय बाल श्रम निवारण अनुगमन समिति गठन गरिएको रोजगार संयोजक गीता जिसिले जानकारी दिइन् । समितिको संयोजकमा वडा अध्यक्ष चन्द्रमान सुनार, सदस्य सचिवमा वडा सचिव, अन्य सदस्यहरूमा शंकरराज पाठक, शालिग्राम कुडमाल, रमेश मिश्र, लोकेन्द्र हमाल, जानकी मिश्र, पूर्ण बहादुर बम, राम बहादुर कार्की, किरण धामी, गरिमा कुवर विष्ट, पार्भति हमाल र गीता जिसी रहेका छन् ।
वडा अध्यक्ष चन्द्रमान सुनार सभाध्यक्ष, गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला प्रमुख अतिथि र उपाध्यक्ष बिष्ना बम विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले अनुगमन समितिले सक्रियता साथ लागेमा पालिकाको पूर्ण सहयोग हुने बताए । जानी नजानी हरेक क्षेत्रमा बालश्रम हुने गरेकोले यसलाई निवारण गर्न स्थानीय सरकारले छिट्टै कानुन बनाइ कडाइका साथ लागू गर्ने बताए । उनले अबको दुई वर्ष भित्र पालिकालाई बालश्रम मुक्त गरिने बताए ।
उपाध्यक्ष विष्ना बमले बालश्रमले बालबालिकाको मानसिक शारीरिक विकासमा असर गर्ने हुँदा बालश्रम मुक्त गर्नका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने बताइन् । साथै ऐन नियमको पालना गर्न गराउन स्थानीय सरकार लाग्ने पनि उपाध्यक्ष बमले बताइन् ।
