
काठमाडौँ । एसिसी पुरुष १६ मुनीको पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको हो । समूह ‘ए’को विजेता नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता मलेसियासँग खेल्ने छ ।
आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा तीन सय ५८ रन बनायो । रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा नेपालले भुटानलाई तीन सय ५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । श्रीवास्तवले एक सय ३२ बल खेल्दै एक सय ६८ रनको योगदान दिए । उनले एक सय ३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका प्रहार गरे । यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाए ।

बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट हात पारे। तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ दशमलव ४ ओभरमा १० विकेट गुमाउँदै मात्र ६० रन बनायो । भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाउनुबाहेक भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन् । बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट हात पारे ।
नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालले बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्नेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
