
काठमाडौँ । नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले हराउँदै साविक विजेता नेपाल फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । शिवान्श बजगाईंले अविजित २३ रन बनाए ।

ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट भए । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो ।
मलेसियाका लागि मोहम्द फतुल मुइनले सर्वाधिक ३८ रन बनाए । यस्तै कप्तान डियाज प्याट्रोले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले चार विकेट लिए । शुभम खनालले तीन तथा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए । अब फाइनलमा नेपालले असार २१ गते हङकङ र सिङ्गापुरबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
