
असार ३०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी र शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।

पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय डोटीबाट नगरपालिकामा मात्रै नभएर जिल्लामै उत्कृष्ट नतिजा (३.९६ जिपिए) ल्याई प्रथम हुन सफल कञ्चन पालि, नगरमा दितृय भागरथी एकेडेमी सिलगढीका अरुण भण्डारी (३.८७ जिपिए) र तृतीय सुजङ्ग बोर्डिङ स्कुल राजपुरका सन्तोष बहादुर जोरा (३.८३ जिपिए) लाई नगद, सम्मान पत्र र दोसल्ला सहित पुरस्कृत तथा सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कञ्चन पालि र अरुण भण्डारीको सम्मान उनीहरुका बुवाहरुले र सन्तोषको बिद्यालयका प्राचार्यले ग्रहण गरेका थिए ।
त्यसैगरि शतप्रतिशत नतिजा ल्याउन सफल सुजङ्ग बोर्डिङ स्कुल, दिपायल एकेडेमी र खप्तड इङ्लिस बोर्डिङ स्कुललाई पनि सम्मान पत्र, माला र दोसल्ला सहित सम्मान गरिएको छ । सुजङ्ग बोर्डिङ स्कुल राजपुरबाट ७७ जना, दिपायल ऐकेडेमीबाट १६ जना र खप्तड इङ्लिस बोर्डिङ स्कुलबाट ८ जना विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) सहभागीता जनाएका थिए । तीनै बिद्यालयबाट सहभागी सबै जना ग्रेडेड अर्थात उत्तीर्ण भएका थिए ।
