
सरकारले आफुहरुहरुका लागि कुनै कार्यक्रम नल्याएको एचआईभी संक्रमितहरुको गुनासो छ ।
संघ, प्रदेश र स्थानीय तह कतैबाट पनि संक्रमितका समस्या नसुनिएको आरोप उनीहरुले लगाउँछन् ।
‘सरकारले हाम्रा समस्याहरुको बिषयमा कुनै चाँसो देखाएको छैन’ संक्रमित कमला मल्ल भन्छिन् ‘हामीलाई साँझ बिहानको छाक टार्ने भन्ने समस्या छ ।’ एआरटी सेवन गरिरहेका संक्रमितहरुलाई पोषणयुक्त खाना चाहिने तर आर्थिक अभावका कारण उनीहरुले पोषिलो खाना खान नसकेको उनले वताईन् ।
‘स्थानीय तहहरुसंग संक्रमितहरुलाई आयमूलक कामका लागि सहयोग गरिदिनु प¥यो भनेर पटक पटक आग्रह ग¥यौं तर कसैले सुनेन’ २० बर्षअघि डोटीमा खुलेर अगाडि आएकी पहिलो संक्रमित महिला मल्ल भन्छिन् ‘प्रदेश र संघीय सरकारले पनि हामीलाई नारामै सिमित गरेका छन् ।’ पहिले एचआईभीको क्षेत्रमा काम गरेका व्यक्तिहरुनै जनप्रतिनिधि हुँदा समेत संक्रमितहरुका लागि कुनै सहयोग नगरेको उनको आरोप छ ।
जिल्लाका दुर्गम बस्तीबाट एआरटी लिन आउँदा उनीहरुसंग यातायात खर्चको समेत अभाव हुने गरेको अर्का संक्रमित मानवहादुर भण्डारी बताउँछन् । उनी भन्छन् ‘पालिकाहरुले कम्तीमा उनीहरुका लागि गाडी भाडाको व्यवस्था गरिदिएको भए हुने थियो ।’ नेताहरुले चुनावमा भोट मात्रै माग्ने गरेको तर हाम्रा लागि केही नगरिदिएको उनको आरोप छ ।
बिगतमा गैरसरकारी संस्थाहरुले यातायात, आयआर्जन, पोषण लगायतका क्षेत्रमा लगानी गरेका तर अचेल गैससहरुको संख्या पनि कम भएको एक अर्का संक्रमित वताउँछन् ।
आर्थिक अवस्था कमजोर भएका कारण केही संक्रमितहरुले बिचमै एआरटी खान समेत वन्द गरेको जिल्ला अस्पताल डोटीको एआरटी शाखामा कार्यरत कमल प्रसाद रेग्मी वताउँछन् । ‘एआरटी त निशुल्क पाईन्छ, उनीहरुले टाढाटाढाबाट आउनु पर्ने हुन्छ’ रेग्मी भन्छन् ‘त्यसका लागि यातायात खर्च समेत नभएपछि सम्पर्कबिहिन हुन्छन् ।’ केही संक्रमितहरु रोजगारीका लागि भारत जानु पर्ने भएपछि सम्पर्क बिहिन हुने गरेको रेग्मीको भनाई छ ।
संक्रमितहरु अहिले पनि खुलेर आउन डराईरहेको वताउँछन् स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशी । उनी भन्छन् ‘समाजमा अहिले पनि लान्छना र भेदभाव लाउने कायमै छ, त्यसैले एचआईभी परीक्षण गर्न पनि मान्दैनन् ।’ समाजमा परीक्षण नगराई लुकेर बसेकाहरु समस्या हुने उनको भनाई छ ।
एआरटी सेवन गरिरहेकाहरुका लागि पोषणयुक्त खाना अनिवार्य भएको वताउँछन् जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटण्डेण्ट सन्तोष कुमार गुप्ता । ‘एआरटी सेवन गर्दा रोसंग लड्ने क्षमताको सन्तुलन मिलाउनका लागि पोषणयुक्त खाना आवश्यक हुन्छ’ गुप्ता भन्छन् ‘यसका साथसाथै संक्रमितहरुले आफ्ना वानी व्यवहार पनि सुधार्नु जरुरी हुन्छ ।’
एचआईभी संक्रमितहरुको आर्थिक अवस्था कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा नीति र योजना निर्माण तहमा छलफल गरिनु पर्ने उनको भनाई छ ।

डोटीमा ४९० संक्रमितले एआरटी खाँदै
डोटी जिल्लामा एआरटी सेवन गरिरहेका व्यक्तिहरुको संख्या चार सय ९० रहेको एआरटी शाखाले जानकारी दिएको छ ।
शाखामा कार्यरत परामर्शकर्ता सर्मिला मलासीले दिएको जानकारी अनुसार यस जिल्लामा हालसम्म एक हजार एक सय ६० जनामा संक्रमण देखिएको छ । तिमध्ये दुई सय ६० जनाको मृत्यु भएको मलासीले जानकारी दिईन् । ‘एआरटी सेवन गरिरहेका एक सय ५० जना बिभिन्न कामको सिलसिलामा जिल्ला भन्दा बाहिर गएका छन्’ उनले भनिन् ‘एआरटी खाईरहेका ६० जना सम्पर्कबिहिन भएका छन् ।’

