आफ्नो अधिकारका लागि संगठित हुँदै श्रमिक महिलाहरु

२ पुष, डोटी
दिपायल सिलगढी नगरपालिका–४ कि सिता बिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दैछन् । श्रीमानको सडक दुर्घटनामा मृत्यु भएपछि चार छोराछोरी, आफु र सासु गरि ६ जनाको परिवारका आधारभूत आवश्यकता पुरा गर्न उनले दैनिक ज्यालादारी गर्न गर्नु प¥यो । काम गर्ने ठाउँमा आफुमाथी विभेद् हुने गरेको थाह पाएपछि उनले बिद्रोह गर्न सुरु गरिन् ।
‘काममा जाँदा ज्यालामा ठगी त गर्थे नै त्यसका साथसाथै काम गर्ने ठाउँमा महिलाहरुलाई हेर्ने दृष्टिकोण निकै फरक थियो’ सिता भन्छिन् ‘काम पाउनका लागि महिलाहरु जे गर्न पनि तयार हुन्छन् भन्ने सोच हुने रहेछ ।’ कार्यस्थलमा गलत नजरले हेर्ने, नजिक आउन खोज्ने जस्ता क्रियाकलापहरुले बिद्रोही चेत निर्माण ग¥यो सितामा ।
दिपायल सिलगढी नगरपालिका–४ कै अप्सरा (नाम परिवर्तन) ११ बर्षको उमेरदेखि दैनिक ज्यालादारी श्रम गरेर आफ्नो जीवन चलाईरहेकी छन् । बुवाले घरपरिवारको वास्ता गर्ने भएपछि आमाको कमाईले मात्रै घर परिवार नचल्ने भयो । भाईबहिनीहरुको लालनपालनको लागि अप्सरा पनि आमासंगै काममा जानु प¥यो । ज्यालादारी गर्ने क्रममै ठेकेदारसंग प्रेम सम्वन्ध भएपछि १६ बर्षको उमेरमै प्रेम बिवाह गरेकी अप्सरालाई श्रीमानले छोडेर गए । ‘बिहे भएको दुई वर्षसम्म हामीसंगै बस्यौंं, ठेक्काको काम सकिएपछि उनी कता गए पत्तै भएन्’ अप्सरा भन्छिन् ‘उनको घर बैतडी हो भन्थे, हामीलाई छोडेर कता गए, अहिलेसम्म पनि कुनै पत्तो छैन ।’ श्रीमान बेपत्ता भएपछि पेट पाल्नकै उनले उनले दुधे बालक (छोरी) पिठ्यूमा बोक्दै ज्यालादारी सुरु गरिन् । काम गर्ने क्रममा महिला श्रमिकमाथी हुने बिभेद्ले उनमा पनि बिद्रोह गर्ने आँट आयो ।
सिता र अप्सरा मात्रै होईन्, दिपायल सिलगढी नगरपालिका–४ का श्रम गर्ने धेरै महिलाहरुले कार्यस्थलमा हुने बिभेद र दुव्र्यवहार सहनु प¥यो । दुव्र्यवहार सहँदै जाँदा उनीहरु त्यसको बिरोध गर्न संगठित पनि हुँदै गए ।
‘हामीले पुरुष सरह काम गर्दा पनि ज्यादा थोरै दिन्थे, काम गर्ने ठाउँमा आफुलाई असुरक्षित भएको महसुस भईरहन्थ्यो’ सिता भन्छिन् ‘ज्यालामा समानता हुनु पर्ने र कार्यस्थलमा सुरक्षित वातावरण हुनु पर्ने भन्दै हामीले ठेकेदारसंगै आफ्ना मागहरु राख्न थाल्यौं ।’ ठेकेदारले आफ्ना मागहरु पुरा नगरेपछि आफ्नो पिडा सरोकारवाला निकायहरुम्म पु¥याएको सिता वताउँछिन् ।
वडा नं ४ का एक सय ८६ घरधुरीका महिलाहरु दैनिक रुपमा ज्यालादारी काम गरेर खाने गुजरा गर्ने गर्दछन । बस्नलाई घर र खेतीपाती गर्नलाई जग्गा जमिन नभएपछि दुई÷तीन पुस्ताअघि ग्रामिण क्षेत्रबाट कामको खोजीमा शहर पसेका उनीहरुको आय आर्जनको मुख्य स्रोत ज्यालादारी काम हो । ‘बिहानै उठेर हातमा नाम्लो लिदै बजार जानु पर्ने र व्यापारीका गाडीहरुमा आएको सामान लोड अनलोड गर्ने’ अप्सरा भन्छिन् ‘कहिले गिट्टी कुट्नु पर्ने, कहिले ढुङ्गा बालुवा बोक्नु पर्ने, हाम्रो दिनचर्या यसरीनै बित्छ ।”
दिनभरी काम गर्दा पनि थोरै ज्याला पाउने हुँदा घर खर्च चलाउन धौ धौ हुने अवस्था भईरहेको थियो श्रमिक महिलाहरुलाई । आफुलाई ज्यालामा ठगि भईरहेको छ भन्ने थाहा हुदाहुदै पनि दोस्रो दिन काम नपाईने हो कि भन्ने डरले उनीहरुले आवाज उठाउन सकेका थिएनन् । सगै काम गरेका पुरुषहरुले पाँच सय ज्याला पाउने महिलाहरुले दुई सयमा चित्त बुझाउनु पर्ने हुँदा मन कटक्क हुन्थ्यो उनीहरुको । उनीहरु बिद्रोह त गर्न चाहान्थे तर आँट थिएन ।
श्रमिक महिलाहरुलाई संगठित गर्ने कार्यमा सहयोग ग¥यो स्थानीय गैरसरकारी संस्था सम विकास केन्द्रले । एक्सन एडको सहयोगमा सञ्चालित स्थानीय अधिकार परियोजना सञ्चालन गरिरहेको केन्द्रले परियोजनामार्फत श्रमिक महिलाहरुको समूह निर्माण भयो । ‘समूहमा बसेपछि हामीले समान कामको समान ज्याला, कार्यस्थलमा हुने दुव्र्यवहारबाट बच्ने उपाय, काम गर्दा अपनाउनु पर्ने सावधानी, श्रमिकहरुका अधिकार जस्ता बिषयमा जानकारी पायौं’ स्थानीय भागा पार्की भन्छिन् ‘जव हामी संगठित भयौं, त्यसपछि आवाज उठाउने साहस आयो ।’
अहिले आफुहरुले पुरुष सरहनै ज्याला पाइरहेको वताउँछिन् सिता विक । उनी भन्छिन् ‘अचेल त सरकारले तोकेको न्यूनतम् ज्याला पनि हामीले पाइरहेका छौं, बिरामी हुँदा सामान्य उपचार खर्च पनि पाउने गरेका छौं ।’

Sayalb

श्रमिक महिलाहरुले लेडेरै लिए आफ्नो ज्याला
ठेकेदारहरुले काममा लगाउने तर आफुहरुलाई ज्याला नदिई भाग्ने गरेको गुनासो श्रमिक महिलाहरुको छ । अप्सरा भन्छिन् ‘काम गरायो, एकदुई दिनमा बिल भुक्तानी भएपछि तपाईको पैसा दिन्छु भन्ने तर पैसा नदिएर जाने गरेका धेरै घटना छन् ।’
समूहमा आवद्ध भएपछि श्रमिकहरुका अधिकारको बिषयमा पनि छलफल गरेको सिता वताउँछिन् । समूहमा छलफलबाटै कानुनी उपचारको बिषयमा जानकारी भएपछि लामो समयपछि काम गरेको ज्याला असुल गर्न सकेको उनको भनाई छ । ‘ठेक्काको काम सकिएसंगै हामी श्रमिकहरुलाई ज्याला नै नदिएर भागेका थिए’ सिता थप्छिन् ‘हामीले उजुरी गरेपछि आएर पैसा तिरे कतिले त ।’ प्रहरीको सहयोगमा ३३ जना श्रमिक महिलाहरुले काम गरेको तीन लाख १२ हजार रुपैयाँ असुली भएको उनी वताउँछिन् ।

निर्माण व्यवसायीले बाहिरबाट श्रमिक ल्याउदा समस्या
श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको बिषय उठाउँदा निर्माण व्यवसायीहरुले अन्य जिल्लाबाट कम ज्यालामा मदजुर ल्याउन थालेपछि श्रमिक महिलाहरु चिन्तित भए ।
उनीहरुले बाहिरबाट आउने श्रमिक महिलाहरुलाई पनि श्रमिक अधिकारको बिषयमा सचेत गराए । ‘हामीले बाहिरी जिल्लाबाट आउने श्रमिक महिलाहरुलाई पनि समान कामका लागि समान ज्याला र श्रमिकका अधिकारको बिषयमा जानकारी गरायौं’ अप्सरा भन्छिन् ‘उनीहरुलाई ज्यालामा ठगिएको महसुश गराइयो, त्यसपछि उनीहरुले पनि आफ्नो अधिकार पाए ।’
पहिलेको तुलनामा अहिले ज्यालामा हुने बिभेद कम भएको बताउँछिन् दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर । ‘अझै पनि केही ठाउँमा ज्यालामा महिला र पुरुषबीच बिभेद गर्ने गरेको पाईएको छ’ उपप्रमुख महरले भनिन् ‘यसका लागि स्थानीय तह, रोजगारदाता र अन्य सरोकार–वालाबीच समन्वय हुनु जरुरी छ ।’ नगरपालिकाले श्रमिक महिलाहरुको अवस्थाको बिषयमा नियमित अनुगमन गरिरहेको उनको भनाई छ ।
उनले केही ठाउँका श्रमिक महिलाहरु संगठित भएर आवाज उठाउन सकिरहेका तर अझै धेरै महिलाहरु संगठित हुन बाँकी रहेको वताईन् ।
परियोजना अन्तरगत रिफ्लेक्ट कक्षाहरु सञ्चालन गरेर श्रमिक महिलाहरुको सशक्तिकरण गर्ने कार्य भईरहेको सम विकास केन्द्रको स्थानीय अधिकार परियोजनाका संयोजक नरेन्द्र बिक वताउँछन् ।

Shaileshwori
Loading...