
माघ ९, डोटी । गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘डा.हेमराज जोशी स्मृति पुरस्कार’बाट पुरस्कृत भएकी छन् । सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार पालीलाई उक्त पुरस्कार वितरण गरिएको हो ।
उनी अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेकाले उनका बुबा झलक पालीले उक्त पुरस्कार तथा सम्मान ग्रहण गरेका छन् । विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट र प्रधानाध्यापक केशवराज ओझाले संयुक्त रूपमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

‘डा.हेमराज जोशी स्मृति पुरस्कार’ अन्तरगत रु. ५ हजार र विद्यालयको तर्फबाट ५ हजार गरी १० हजार नगद तथा दोसल्ला र सम्मान पत्र सहित प्रदान गरिएको हो । दिपायल सिलगढी नगरपालिका ६ निवासी स्वर्गीय डाक्टर हेमराज जोशीको स्मृतिमा दुई दशकभन्दा पहिले स्थापित उक्त पुरस्कार राशि एसइई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दिइँदै आएको छ । स्वर्गीय जोशी आफ्ना साइँला बुबा तथा नेपालका तत्कालीन क्षयरोग विशेषज्ञ डाक्टर रहेको दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीले बताए ।
छात्रा पालीले एसइई मा ३.९६ अङ्क प्राप्त गरी डोटी जिल्लाकै इतिहासमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन् । हाल उनी काठमाडौँ मोडेल कलेज बागबजारमा प्लस टु साइन्स अध्ययनरत छन् ।
