
माघ १६, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आगामी फागुन २१ गतेको चुनावलाई लिएर देश दौडाहामा छन् । रास्वपाले प्रधानमन्त्रीको रूपमा अघि सारेका नेता शाह यति बेला सुदूरपश्चिम प्रदेशमा छन् ।
शाहले माघ १५ गते बिहिवार एकै दिन सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा घण्टी अभिवादन कार्यक्रम गरेका छन् । सोही सिलसिलामा बिहिवार साँझ डोटीको दिपायल पुगेका शाह दिपायल स्थिति वर्षा होटेलमा बस्ने कार्य तालिका थियो । रास्वपा डोटीले सोही अनुसार वर्षा होटेलमा बस्ने व्यवस्था मिलाएको थियो । सामाजिक सञ्जालमा त बालेनलाई वर्षा होटेलको ३०४ नं. कोठामा सुत्ने व्यवस्था मिलाइएको सार्वजनिक गरिएको थियो ।

तर बालेन वर्षा होटेलमा बसेनन्, वर्षामा मात्रै होइन दिपायलमै बसेनन् । बालेन राति नै सिलगढी पुगेको खुल्न आएको छ । रास्वपा डोटीका नेता कार्यकर्तालाई समेत थाहा नदिई बालेन राति नै सिलगढी पुगेर आफ्नै व्यवस्थापनमा शैलेश्वरी गेस्टहाउस बसेको खुलेको छ ।
यश विषयमा रास्वपा डोटीका सभापति केशव बलायरले शुक्रवार बिहानै अछाम जानू पर्ने भएकाले सिलगढीबाट अछाम जान छोटो हुने भएकाले वरिष्ठ नेता शाह आफ्नै व्यवस्थापनमा सिलगढी पुगेको बताए । उनले भनेका छन्, ‘वरिष्ठ नेता ज्यू दिपायल बस्ने भनेर होटेल र रुम नम्बर समेत बाहिरियो त्यसो हुनुहुँदैन थियो । त्यस कारण उहाँको इच्छाले नै सिलगढी बास बस्नुभयो ।’

