
२८ माघ, डोटी । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत, डोटीले आचार संहिता उलंघन नगर्न दलहरुलाई उर्दी गरेको छ ।
निर्वाचन आचार संहिता अनुगमन अधिकृतद्वय शेरवहादुर बिष्ट र भोजसिंह ऐडीद्वारा सोमवार एक सूचना जारी गरी आचार संहिता उलंघन नगर्न दलहरु र तिनका भातृ संगठनहरुलाई सचेत गराईएको छ । आचार संहिताको पूर्ण पालना गर्न पटक–पटक छलफल, अन्तक्र्रिया गरिएको भएपनि केही राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूले आचार संहिता उलंघन गरी कोणसभा गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन–प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने गुनासो आएपछि यस्तो नगर्न भनिएको हो ।
‘कोही कसैबाट आचार संहिताको उलङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत सूचित गरिन्छ’ सूचनामा उल्लेख छ । आचार संहितामा मतदान हुने मितिभन्दा १७ दिनअघिदेखि मात्र जुलुस, आमसभा वा कोणसभा गर्ने, सञ्चार माध्यमबाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्ने, निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्ने व्यवस्था भएको हुँदा सोही अनुसार गर्न सूचनामा उल्लेख छ ।

गोपनीयता भङ्ग नगर्नु
आचार संहिता अनुगमन अधिकृतले सामाजिक सञ्जालको प्रयोग गरी ममतदानको गोपनीयता भङ्ग नगर्न पनि सम्वन्धित सवैलाई सचेत गराएको छ ।
‘केही अनलाइन सञ्चार माध्यमहरूले समेत सर्वसाधारण तथा मतदाताहरूलाई कसलाई मत दिनुहुन्छ भन्ने जस्ता प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको पाईयो’ सूचनामा भनिएको छ‘यसले जित्ने सम्भावना अथवा यसको पल्ला भारी छ भन्ने जस्ता समाचार प्रकासन गर्ने गरेको, मत सर्वेक्षण गर्ने गरेको आदि जानकारी प्राप्त हुन आएकोले यस्ता कार्यहरू निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उलङ्घनको कार्य हुने हुँदा यस्ता कार्यहरू नगर्न÷नगराउन हुन अनुरोध छ ।’ यस्तो गरेको पाईएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
सूचनामा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेमा अधिकांश उम्मेदवारहरूले हालसम्म खाता खोलेको नपाइएको समेत उल्लेख छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र उनको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेमा केही सिमित उम्मेदवारले मात्र उक्त विवरण पेश गरेको वताईएको छ ।
