
माघ २९, डोटी । डोटीमा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ पोखरीमा बुधवार साँझ करिब ६:४० बजे स्थानीय ३० वर्षीय कलम धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय दुर्गा सिंह कुडमालको तीन तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा उनको मृत्यु भएको हो । वायरिङको काम गरिरहेका धामी सोही कोठामा राखिएको भरुवा बन्दुक अचानक पड्किँदा बायाँ कन्चटमा छर्रा लागी घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । त्यसै गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा ६ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
