
फागुन १७, डोटी । नेपाली कम्युनिष्ट पार्टीका नेता त्रिलोचन भट्ट २०७४ सालको निर्वाचनमा डोटीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री बनेर सरकार चलाए । २०७९ को निर्वाचनमा भने उनी उम्मेदवार बनेनन् । पाँच वर्ष मुख्यमन्त्री हुँदा निस्कलंक बाहिरिएर सादगी नेताको छवि बनाएका भट्ट यसपालिका डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । चुनावको सन्दर्भमा भट्टसँग गरिएको कुराकानी ।
प्रचारप्रसारको अवधि सकिदै छ, चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?
म डोटी जिल्लाका ६५ वटै वडा र अधिकांश गाउँबस्तीमा घरदैलो अभियान लिएर पुगेको छु । जिल्लाका सबै भूगोलमा गएर जनताका बिचमा आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने, भेटघाट गर्ने, भोट माग्ने काम गरेको छु । अहिले पनि जनतामा गएर आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने कार्य निरन्तर छ । २०७४ सालमा डोटेली जनताले मलाइ निर्वाचित गराएर पठाइसकेपछि म प्रदेशको मुख्यमन्त्री भएँ । मुख्यमन्त्री भएपछि डोटीको विकासमा मैले जुन प्रकारको भूमिका निर्वाह गरेको थिएँ, वर्षौँदेखि नभएका कामलाई सम्पन्न गर्ने, नयाँ कामको थालनी गर्ने, गाउँघरमा सानादेखि ठूला योजना योजना कार्यान्वयन भएका थिए । यसबाट जनताले पनि आशा र भरोसा गरेको पाएको छ । यसले भोलिको दिनमा पनि मलाइ जिताएर पठाए भने थप काम गर्न सकिन्छ भन्ने महसुुस गरेको छु ।
जनताका केकस्ता सुझाव र अपेक्षाहरु पाउनु भयो ?
देशमा पछिल्लो चरणमा जुन प्रकारको परिस्थिति देखिएको छ, राष्ट्रियता खतरामा परेको, लोकतान्त्रिक गणतन्त्र र संविधान खतरामा परेको कुरामा जनताको चाँसो देखिएको छ । यसलाई सही बाटोमा ल्याउनु पर्छ र सही बाटोमा ल्याउन चुनावनै हुनुपर्छ भन्ने बुझाइ देखिन्छ । अर्को आफ्नै गाउँघरको विकासको कुरामा चाँसो छ । विगतमा जुन अभाव थिए, त्यसलाई मेरो कार्यकालमा केही सम्बोधन त भए तर त्यतिले मात्र पुगेको छ भन्ने छैन । आफ्नो बस्तीको विकास, गाउँको विकास, शिक्षा, स्वास्थ्य रोजगारी, कृषिमा आधुनिकीकरणका विषयमा जनताको चाँसो र अपेक्षा देखिएको छ । काम गर्न सक्ने र काम गरेको व्यक्तिलाई मत दिनुपर्छ भन्ने आमधारणा रहेको देखिएको छ र मैले त्यो पाएको छु ।
चुनावको दौरानामा जनताको घरदैलोमा नेताहरु पुग्छन् तर जितिसकेपछि सबै नेताहरु फर्केर आउँदैनन् भन्ने कुरा पनि उठेको छ । मेरो हकमा त्यो कम उठेको छ । किनकी म आफू मुख्यमन्त्री हुँदा नपुगेको ठाउँमा पनि मैले गरेको विकास कुनै न कुनै रुपमा पुगेको हुनाले जनताले त्यो आधारमा बुझेका छन् । तपाथि केही सकारात्मक गुनासाहरु पनि आएका छन् । निर्वाचित भएर गइसकेपछि नेताहरुले काम गर्नुपर्छ, जनताको घरदैलोमा विकास गर्नुपर्छ र उनीहरुको चाहनाअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा जायज पनि हो । गाउँघरका समस्या खानेपानी, सिँचाइ, दैनिक समस्याका समाधानका कुरा र ठूला योजनाहरु फास्ट ट्रयाक, पश्चिम सेती, एसआर ६ जस्ता योजनाहरु अगाडि बढाउनु पर्छ, ठूलो लगानी ल्याएर कृषिमा काम गर्नुपर्छ भन्ने अपेक्षा जनतामा छ ।

तपाइ के एजेण्डा लिएर जनतामाझ गइरहनु भएको छ ?
अरु पार्टीका उम्मेदवार र मबिच फरक छ । अरु पार्टीका उम्मेदवार हामी यसो गर्छौँ भनेर प्रतिवद्धता लिएर गइरहेका छन् । मचाँहि २०७४ को निर्वाचनपछि पाँच वर्षमा मैले यो यो काम गरेँ । जस्तै स्वास्थ्यमा मैले ५० सय्याको अस्पतालदेखि जिल्ला अस्पताल, स्वास्थ्यका स्थानीय तहमा भवनहरु निर्माण गर्ने, सेवा सुधार गर्ने, शिक्षामा डोटीका छ वटा क्याम्पसका आधुनिक भवन निर्माण, करिब ८० प्रतिशत विद्यालयमा भवन निर्माण गर्ने, आइटी ल्याब निर्माण गर्ने काम मेरो कार्यकालमा भएका छन् । खप्तडलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहुँच सडक कालोपत्रे भएको थियो ।
डोटी जिल्लामा केआइसिंह राजमार्गबाहेक कुनै पनि ठाउँमा कालोपत्रे सडक थिएन । अहिले सहजपुुर–बोगटान सडक कालोपत्रे भएको छ । बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रेको प्रकृयामा छ । खुटिया–दिपायल दु्रत मार्ग मेरै नेतृत्वको सरकारले निर्णय गरेर पठाएपछि संघीय सरकारले नाम संशोधन गरी बझाङसम्म क्षेत्र विस्तार गर्नुका साथै डोटी र कैलालीमा केही खण्ड कालोपत्रे पनि भएको छ । दिपायलमै खानेपानीको अभाव थियो । अहिले दिपायल र एअरपोर्टमा सेतीको पानी ल्याएर खाने अवस्था भएको छ । बाफीको डाँडा र तिखाको तल्लो क्षेत्रका जनताले सेतीको पानी खाइरहेका छन् । यी योजना हामीले नै अगाडि बढाएको हो । धेरैजसो बस्तीमा सिँचाइ योजना पुगेका छन् । यी मैले गरेका काम भए ।
आगामी दिनमा खप्तडमा पर्यटन विकास, खुटिया–दिपायल फास्ट ट्रयाक छिटोभन्दा छिटो सम्पन्न गर्ने, कृषिमा ठूला परियोजनाहरु ल्याएर कृषिको आधुनिकीकरण गर्ने, पश्चिम सेती र एसआर ६ योजनालाई अगाडि बढाउन पहल गर्नेलगायत केन्द्रबाट हुने योजनालाई अगाडि बढाउने विषयहरु अघि सारेको छु । यो सँगसँगै निजामति ऐन जो अहिलेसम्म केन्द्रमा बनेको छैन, शिक्षा ऐन नबन्दा तल समस्या भइरहेको छ । यस्ता केन्द्र सरकारबाट हुने कामहरु गर्छु भनेर प्राथमिकतामा राखेको छु । जनताका सानादेखि ठूला समस्या सम्बोधन गर्ने, ती योजना सञ्चालन गर्ने मेरो प्रतिवद्धता छ । सुशासन, सामाजिक न्याय, राष्ट्रियताका कुरा छन् ।
इमान्दारितापूर्वक जनताको काम गर्ने व्यक्तिलाई पार्टी विशेष र कुनै व्यक्ति विशेष नभइ साझा रुपबाट हेरिदिनु पर्छ । काम गर्ने व्यक्तिलाई अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले मैले जनतामा आफ्ना कुरा राखेको छु । यसलाई जनताले विश्वास पनि गरेका छन् ।
तपाइ पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री हुनुभयो, मुख्यमन्त्री हुँदा तपाइले गरेका कामलाई जनताले कसरी मूल्यांकन गरेको पाउनु भयो ?
पाँच वर्षसम्म मुख्यमन्त्री हुँदा मैले इमान्दारितापूर्वक जनताको काम गर्ने प्रयास गरे । यसलाई जनताले निकै सकारात्मकरुपमा लिएको पाएको छु । चुनावी प्रचारका क्रममा म डेढ सय हाराहारी बस्तीमा पुगेको छु । सबै ठाउँमा जनताले मेरो कार्यकालमा भएका कामको प्रशंसा गरिरहेका छन् ।
