भरत खड्काको निरन्तर यात्रा : पञ्चायतदेखि गणतन्त्रसम्म, प्रधानपञ्चदेखि प्रतिनिधि सभासम्म

Sayalb

२६ फागुन, डाेटी । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार भरतवहादुर खड्का बिजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिवन्धी नेकपा एमालेका उम्मेदवार दिपकवहादुर धामीलाई ७ सय ८७ मतले पछाडि पार्दै बिजयी भएका हुन् ।
खड्काले १४ हजार ८ सय ९७ मत प्राप्त गर्दा धामीले १४ हजार १ सय १० मात्रै पाउन सके । राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रवहादुर खड्काले १३ हजार २ सय ७० मत प्राप्त गरे । यो सफलतासंगै खड्का पञ्चायतकालदेखि हालसम्म सातौं पटक जनप्रतिनिधि चयन भएका छन् । २०१६ सालमा पूर्वीचौकी गाउँपालिका–१ मा जन्मिएका खड्काले २०३२ सालदेखि नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।
खड्काको जनप्रतिनिधि हुने यात्रा २३ बर्षकै उमेरमा सुरु भयो । उनी २०३९ सालको गाउँ पञ्चायल चुनावबाट साविक खिरसैन गाउँ पञ्चाययतको प्रधानपञ्च चुनिए । त्यपछिदेखि उनी पञ्चायत, बहुदलीय प्रजातन्त्र र गणतन्त्रसम्म सदावहार नेता हुँदै आएका छन् । २०४४ सालमा डोटी जिल्ला पञ्चायतको सभापति चुनिएका खड्का बहुदलपछि कांग्रेसमा सक्रिय भए ।
कांग्रेसका चर्चित आकाँक्षीहरुलाई पछि पार्दै खड्का २०४९ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति उपसभापतिको उम्मेदवार भए । उनलाई निर्वाचनमा सफलता प्राप्त भयो । २०५४ सालमा खड्काले फेरी जिल्ला विकास समितिको सभापतिमा बाजी मारे । २०६२/०६३ सालको जनआन्दोलनपछिको गणतन्त्रात्मक व्यवस्थामा पनि खड्काले तेश्रो पटक जनप्रतिनिधि हुने अवसर पाएका छन् । २०६४ सालको संबिधान सभा सदस्य निर्वाचनमा खड्काको नाम समानुपातिकको सूचीमा थियो । त्यसबेला कांग्रेसले सोचे भन्दा बिपरित मत परिणाम आएपछि उनी छानिएनन् । २०७० सालको दोश्रो निर्वाचनमा खड्का समानुपातिकबाटै संबिधानसभा सदस्य चुनिए ।
२०७४ साल मंसिर २१ गते भएको निर्वाचनमा उनी डोटीबाट प्रत्येक्षतर्फ प्रदेश सभा सदस्य निर्वाचित भए । खड्काले तत्कालीन बाम गठवन्धनका उम्मेदवार चक्रवहादुर मल्ललाई ६१४ मतान्तरले हराउँदै बिजयी भएका थिए । खड्काले १७ हजार ४०६ मत पाउँदा मल्लले १६ हजार ७९२ मै चित्त बुझाउनु परेको थियो ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा खड्का प्रतिनिधि सभाका लागि दावेदार थिए । तर कांग्रेस–माओवादी–समाजवादी गठवन्धन हुँदा डोटीको प्रतिनिधि सभा सदस्य सिट साविक समाजवादीका भाग परेपछि उनले टिकट पाएनन् । पछिल्लो समय कांग्रेसमा भएको नेतृत्व परिवर्तनले खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सहज वनाईदियो । प्रतिकुल राजनीतिक परिस्थितिमा पनि खड्काले आफ्नो जितलाई निरन्तरता दिएका छन् ।

Shaileshwori
Loading...