सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा,
![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
कञ्चनपुरः सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ ।
बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो । विसं २०६७ मा स्थापना भएको विश्वविद्यालय भवनको अभावमा यसअघि भाडाका घरमा सञ्चालन हुँदै आएको थियो ।
नवनिर्मित भवनमा ३५ कोठा र दुई बैठक कक्ष रहेका छन् । भवन १३ करोडको लागतमा निर्माण गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्द विष्टले प्रशासनिक भवन निर्माण भएपछि दैनिक कामकाज नयाँ भवनबाट सुरु गरिएको बताए । “विश्वविद्यालय स्थापना भएपनि आफनै भवन थिएन”, उनले भने, “मासिक रूपमा ६५ हजार घरभाडा तिरेर प्रशासनिक कार्यसञ्चालन गर्दै आएका थियौँ । विश्वविद्यालयको आफ्नै भवन भएपछि कामकाज गर्न निकै सहज हुने भएको छ ।”
विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले प्रशासनिक भवन अहिले एक तलाको बनेको भएपनि निकट भविष्यमै तीनतले भवन निर्माण गरिने बताए । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको १९ बिघा जग्गा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उपलब्ध गराइएको थियो ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)