तिहारको मुखैमा भारत पस्नेको लर्काे

कैलाली । कैलालीको नेपाल–भारत सीमा नाकामा भारत पस्नेहरुको लामो लर्काे लागेको छ ।

देशभर तिहारको रौनक छाइसकेको छ । तर तिहारको मुखैमा घरपरिवार छाडेर काम खोज्दै भारत जानेहरुको संख्या बढ्दो छ ।

सीमा प्रहरी चौकी डोके बजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाका अनुसार दसैंपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढी नेपाली भारत पसेका छन ।
तिहारको मुखैमा भारत जान थालेका अधिकांशले नेपालमा रोजगारी नभएको भन्दै सरकारको आलोचना गरे । ‘युवाहरूलाई यहीँ राख्छौं भन्थे । अहिले हाम्रो पीडा कसैले सुनेको छैन,’ धनगढी मनेहराका देव रानाले आक्रोश व्यक्त गरे ।

उनी पहिलो पटक आफन्तसँगै भारत पस्दै छन् । ‘सायद अब सधैं जानुपर्छ होला,’ उनी भन्छन्, ‘यहाँ न त भनेको जस्तो काम पाइन्छ, न सरकारले हेर्छ ।’

गाउँमा सबैतिर तिहारको रौनक सुरु हुँदा मन खिन्न पारेर भारत जानुपरेको बाध्यता उनले सुनाए । ‘घरमा अब के खाने, के लाउने हुन थालेको छ । म जेठो छोरा हुँ,’ उनले भने, ‘अरूले तिहार मनाउन पाउन् भनेर म नमनाई काममा हिँडेको हुँ ।’

Sayalb

पछिल्लो केही दिनयता कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक एक हजार बढी नेपाली भारत पलायन भइरहेका छन् । उनीहरू त्यहाँ सस्तोमा श्रम बेच्न बाध्य छन् ।

राम्रो काम नभए पनि जानै पर्ने बाध्यता रहेको टिकापुरका विनोद विष्टले सुनाए । कोरोना संक्रमण बढ्न थाले पनि नेपालमै केही गर्ने भन्ने सोचेर फर्किएका उनी ७ महिनामा फेरि भारत जान थालेका हुन् । ‘यहाँ रोजगारी पाइएन । भएको पैसा पनि सकियो,’ उनले भने, ‘पैसा नभएर तिहार खल्लो हुनुभन्दा त पैसा कमाउनु ठीक लाग्यो ।’

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रवाह नगरी दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ ।

त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै भदौ १२ यता ६६ हजार नेपाली भारत पसेका छन् । सीमा प्रहरी चौकी डोके बजारका अनुसार ४६ हजार पाँच सय पुरुष, ११ हजार पाँच सय महिला र ८ हजार बालबालिका भदौ १२ पछि भारत गएका हुन् ।

दसैं सकिएपछि त्रिनगर नाका भएर २२ हजार बढी भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोके बजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले बताए ।

Shaileshwori
Loading...