मन मिल्दा यौन सम्बन्ध, बिग्रे जवरजस्ती करणी

Sayalb

रामहरि ओझा, कात्तिक २७, डोटी
डोटीको केआई सिंह गाउँपालिकाका एक युवकले आफ्माथी जवरजस्ती करणी गरेको आरोप लगाउँदै एक युवतीले जिल्ला प्रहरी कार्यालय, डोटीमा जाहेरी दरखास्त दिईन् । प्रहरीले आरोपीलाई पक्राउ गरि अनुसन्धान सुरु ग¥यो । बुझ्दै जाँदा उनीहरुबीच लामो समयदेखिको सम्वन्ध रहेको पाईयो । बिवाह गर्ने तहमा पुगेको सम्वन्ध बिस्तारै चिसिदै गएपछि युवतीले युवकलाई जवरजस्ती करणीको आरोप लगाईन् ।
बडीकेदार गाउँपालिकाका एक युवक र एक किशोरीबीचको प्रेम सम्वन्ध बिस्तारै शारीरिक सम्वन्धसम्म पुग्यो । अन्तरजातीय सम्वन्ध भएका किशोरीका आफन्तहरुले अस्वीकार गरे । युवक र किशोरी घरबाट भागेर ओडारमा बस्न थाले । किशोरीका आफन्तहरुले ओडारमा लुकेर बसेको जानकारी पाएपछि युवकलाई मरणासन्न हुने गरि कुटे र किशोरीलाई धम्माउँदै युवकबिरुद्ध जवरजस्ती करणीको जाहेरी दिन लगाए । प्रहरीले युवकलाई नियन्त्रणमा लिएको छ । उक्त घटना अहिले पनि अनुसन्धानको क्रममै रहेको छ ।
केआई सिंह गाउँपालिकाकी एक युवतीले आफुमाथी पटक पटक जवरजस्ती करणी गरेको भन्दै स्थानीय एक युवकबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिईन् । प्रहरीले युवकलाई हिरासतमा लिई अनुसन्धान पश्चात जिल्ला अदालतमा मुद्धा दायर भयो । ति युवक तीन लाख घरौटीमा छुटे । ति दुईबिच पनि लामो समयदेखि सम्वन्ध रहेको देखियो ।
यि माथी उल्लेख गरिएका प्रतिनिधि घटना मात्रै हुन् । डोटी जिल्लामा पछिल्लो समयमा यस्ता घटनाहरु धेरै आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारी अनुसार श्रावणदेखि हालसम्म ११ वटा जवरजस्ती करणीका जाहेरी आएका छन् । तिमध्ये चार÷पाँच वटा घटनाहरु यस्तै प्रकृतिका छन् । ‘जवरजस्ती करणीको जाहेरी आएपछि सोही अनुसारको मुद्धा भन्नु प¥यो’ मुद्धा शाखाका एक प्रहरी कर्मचारीले भने ‘तर अनौपचारिक रुपमा बुझ्दा कुरा अर्कै हुन्छ ।’
यस्ता खालका घटनाहरु बढीनै आउने गरेको वताउँछन् डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेय । उनले भने ‘सानै उमेरमा प्रेम गर्ने र त्यो सम्वन्ध शारीरिक सम्वन्धको तहमा पुग्ने गरेको देखिन्छ । अभिभावकहरुले थाह पाएपछि उक्त सम्वन्ध अस्वीकार गर्ने र जवरजस्ती करणी गरेको भन्दै जाहेरी दिने गरेको पनि पाइएको छ ।’ कुनै कुनै बेला युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि यस्तो समस्या आउने गरेको पाण्डेयको बुझाई छ ।
युवा र युवतीबीच बिभिन्न शर्तमा रही शारीरिक सम्वन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पुरा नगरेमा युवतीले आफुमाथी बलात्कार गरेको आरोप लगाउने गरेको पत्रकार मोहन शाहीको बुझाई छ । शाही बर्तमान कानूनी व्यवस्थाका कारण पनि यस्तो समस्या भएको वताउँछन् । उनी भन्छन् ‘कहिलेकाँही व्यक्तिगत वा परिवारिक रिसईवीका कारण पनि महिलाले पुरुषलाई फसाउन सक्छन् । महिलाहरुले आफुमाथी बलात्कार भएको भने पुग्ने कानून छ ।’ झुटा आरोप लाएर जाहेरी दिने उपर कारवाही हुने व्यवस्था गरि केही व्यक्तिलाई कारवाहीको दायरामा ल्याए यो समस्या कम हुँदै जाने शाहीको बिश्वास छ ।
महिलाअधिकारकर्मी देवकी बोहरा यस्ता घटनाहरु हुनुमा तीन कारण देख्छिन् । ‘सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट युवा र युवतीको सम्वन्ध जोडिन्छ, बिस्तारै त्यो सम्वन्ध प्रेम सन्वन्धमा परिणत हुन्छ’ बोहरा भन्छिन् ‘प्रेम सम्वन्धपछि बिहे गर्ने वा अरु कुनै आश्वासन युवकले दिन्छ र प्रेम सम्वन्ध हुन्छ, अव त्यो आश्वासन पुरा हुँदैन, युवतीले आफुमाथी बलात्कार भएको आरोप लगाउँछिन् ।’ पुरुष आफु बिवाहित भएको कुरा लुकाएर महिलासंग सम्वन्ध वनाउने तर पछि महिलाले थाह पाएपछि जवरजस्ती करणी गरेको आरोप लगाउने गरेको देवकी वताउँछिन् । उनी भन्छिन् ‘तेश्रो कारण पुरुषले पहिलो पटक ललाई फकाई गरेर यौन सम्वन्ध राख्छ, त्यसपछि महिलालाई व्ल्याकमेलिङ्ग गर्न थाल्छ, सहनै नसक्ने भएपछि महिलाले आत्महत्या गर्छिन् या फेरी जवरजस्ती करणीमा जाहेरी दिन्छिन् ।’
अहिलेको समाजमा यो जटिल समस्याका रुपमा देखिएको वताउँछन् डडेल्धुराका अधिवक्ता बिष्णु भट्ट । नेपाल वार एसोसियसन डडेल्धुरा जिल्ला समितिका पूर्व अध्यक्ष समेत रहेका भट्ट भन्छन् ‘न्यायालयले पनि पीडित महिला स्वयंले भनेपछि बलात्कारनै भएको मान्ने गरेको छ, महिलाले आफ्नै वेईज्जत हुने गरि आरोप लगाउँदैनन् भन्ने मान्यता राख्छ ।’ बैज्ञानिक अनुसन्धान र न्यायिक परीक्षण राम्रो नहुँदा यस्ता घटनाको सत्यतथ्य बाहिर नआउने गरेको भट्टको भनाई छ । सामाजिक र कानूनी दुवै पक्षलाई बिश्लेषण नगरी कानूनी पाटो मात्रै समात्दा सही न्याय सम्पादन हुन नसकेको उनी वताउँछन् । भट्टले थपे ‘वन्द समाज खुला हुँदै जानु र समाजले नैतिक धरातल बिर्सनुले पनि यस्तो समस्या आएको छ ।’
डोटीमा मात्रै नभएर अन्य जिल्लाहरुमा पनि यस्ता समस्या आउने गरेको वताउँछन्सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह । ‘आर्थिक लेनदेन वा अन्य स्वार्थहरु पुरा नहुँदा घटनालाई अवास्तविक रुपमा ट्वीस्ट गरेर जाहेरी दिने गरेको पनि देखिन्छ’ निमित्त प्रमुख सिंहले भने ‘जाहेरी जस्तो आएपनि हामी अनुसन्धानका क्रममा बास्तविकतासंग जोडिएरै अनुसन्धान गछौं ।’ उनले झुटा आरोप लगाएर कोही व्यक्ति नफसोस भन्नेतिर प्रहरी सचेत रहेको वताए । सिंह थप्छन् ‘कानूनी व्यवस्थाको दुरुपयोग गर्दै फाईदा लिन खोज्ने चलन जस्तै वनेको छ ।’ १८ बर्षमूनिकी किशोरीसंग उनको सहमतिमै भएको भएपनि कानून अनुसार त्यो बलात्कारनै हुने हुँदा आफुहरुले सोही अनुसार अनुसन्धान गर्ने गरेको सिंहको भनाई छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(२) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने व्यवस्था रहेको छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी र होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने उक्त दफामा उल्लेख छ ।

Shaileshwori
Loading...