नेपालले पहिलोपटक अन्तरिक्षमा अनुसन्धान गर्दै,

फोरमको २०१९ नोभेम्बर २६–२९ सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम, बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो ।

अनुसन्धानका लागि नेपालबाट पठाइएको तुलसीको बिउलाई डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइँदै छ ।
सो प्रस्ताव स्वीकृत भएसँगै नासा स्पेस सेन्टरबाट तुलसीको बिउ डिसेम्बर २ मा अन्तरिक्ष पठाउन लागिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नास्टले जनाएको छ । सो अनुसन्धानको उद्देश्य भनेको पृथ्वीमा रहेका मानिसमा यस्ता जडीबुटीको अधिक उपयोगिता कसरी प्रदान गर्न सकिन्छ भन्ने हो ।

यद्यपि सो अध्ययन भने नास्टका वैज्ञानिकहरूले गर्ने नभई नास्टको स्वीकृतिमा नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले गर्न लागेको हो । उक्त रिसर्च सेन्टर गैरनाफामूलक गैरसरकारी संस्था भए पनि नेपालको सरकारी स्पेस एजेन्सी नभएका कारण विगत १० वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएको सो रिसर्च सेन्टरले अहिले एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमको बैठकमा भाग लिँदै आएको छ ।

सोही संस्थामार्फत अन्तरिक्षमा अध्ययन गर्नको लागि यसअघि नै नास्टले सिफारिस गरेर कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले समेत आवश्यक स्वीकृति दिइसकेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । तुलसीको बिउमाथि अध्ययन गर्ने भएकोले केन्द्रबाट पनि स्वीकृति लिनु परेको हो ।

Sayalb

यी दुई निकायको स्वीकृतिपछि अहिले अनुसन्धानको लागि तुलसीको बिउ नासा स्टेसनमा पुगिसकेको र डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बिउ पठाउन लागिएको नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

अन्तरिक्षमा अनुसन्धान गर्ने सो फोरममा अमेरिका, चीन, भारत लगायत ५१ मुलुकका वैज्ञानिक संस्थाहरू संलग्न छन् । जसमध्ये यसपटकको अनुसन्धान सम्बन्धी परियोजनाको जिम्मा कृष्णराज अधिकारीको अध्यक्षतामा रहेको उक्त रिसर्च सेन्टरलाई दिइएको हो ।

कसरी हुन्छ अन्तरिक्षमा अनुसन्धान ?

यो अनुसन्धानमा नेपाली अनुसन्धानकर्ताहरू अन्तरिक्षमा जान भने पाउँदैनन् । अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अमेरिका, जापान, रसिया, युरोपियन युनियन लगायत १५ वटा देशले ६ वटा कम्पार्टमेन्ट बनाएको छ । यी देशहरूले आ–आफ्नै कम्पार्टमेन्टमा अनुसन्धान गर्ने गर्छन् । प्रत्येक कम्पार्टमेन्टमा ६ महिनाको लागि एक जना अन्तरिक्ष अनुसन्धानकर्ता तिनै १५ देशबाट पठाउने गरिन्छ ।

बहुगुणी औषधि तुलसीलाई नेपालमा भगवान विष्णुको एक अवतारको रुपमा पुज्ने गरिन्छ ।
अहिले नेपालले गर्ने अनुसन्धानको लागि जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सी९जाक्सा०ले सहयोग गरेको छ । त्यसैले जापानको कम्पार्टमेन्टमा लगेर त्यहाँका अनुसन्धानकर्ताले तुलसीको बिउ अंकुराउने प्रयास गर्नेछन् । एक महिनासम्म त्यहाँ अनुसन्धान गरेपछि सो बिउलाई फेरि पृथ्वीमा ल्याइने छ । त्यसपछि अमेरिकाबाट जापान हुँदै नेपालसम्म बिउ ल्याएर यहाँ नेपालका वैज्ञानिक तथा यस विषय अध्ययनरत विद्यार्थीलाई अनुसन्धानको अवसर दिइने रिसर्च सेन्टरका अनुसन्धानकर्ता सरोज कोइरालाले जानकारी दिए ।

एक वर्षअघि सरकारले अन्तरिक्षमा फुच्चे स्याटेलाइट पठाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्षको युगमा प्रवेश गरेको उल्लेख गरेका थिए । त्यसको डेढ वर्षपछि निजी क्षेत्रको पहलमा भए पनि नेपालले अन्तरिक्षमा अध्ययन गर्ने मौका पाएको हो ।

Shaileshwori
Loading...