मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरी निलम्बित
इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए । गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘छानबिनको क्रममा उहालाई निलम्बन गरिएको हो ।’ उनलाई मंसिर १२ गते गृह मन्त्रालयले निलम्बन गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको छ। पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।