प्रधानमन्त्री कप क्रिकेटका लागि बैतडीमा महिला टोली छनोट सुरु

बैतडी: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर महिला छनोटका लागि १८ जनालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। बैतडी जिल्ला क्रिकेट संघले निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा बन्द प्रशिक्षणका लागि बोलाएको हो।
बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा राष्ट्रिय खेलाडी समेत रहेकी ऋतु कनौजिया, मञ्जु बोकटी, बविता बोहरा, निर्मला बोहरा, आरती बोहरा, मीना रावत, सुनिता लुहार, दिव्या कार्की, पूजा कार्की, निशा भट्ट, दमयन्ती ओड, निर्मला भण्डारी, अनिता नाथ र भावना जोशी रहेका छन्। यस्तै, मानवी विक, रेनु पेला, तुलसी जोशी र निर्मला रावललाई पनि बन्द प्रशिक्षणमा बोलाएको प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए।

मंगलबारदेखि सुरु भएको बन्द प्रशिक्षणको उद्घाटन बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्रीले गरे। बन्द प्रशिक्षणबाट बैतडी जिल्लाको महिला क्रिकेट टोलीको छनोट गरिने र उक्त टोलीले प्रदेशस्तरीय छनोट खेल्ने जनाइएको छ। पुरुषको बैतडी जिल्लाको टिमको टुंगो केही दिनमै लाग्ने बताइएको छ।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेदेखि हुँदैछ। महिलाको राष्ट्रिय प्रतियोगिता दाङको लमही र पुरुषको काठमाडौंमा हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ।
