इलेक्टोरल कलेजद्वारा बाइडेनको जीत भएको औपचारिक घोषणा, जनवरीमा शपथ

एजेन्सी: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जितका लागि आवश्यक पर्ने सबै औपचारिकता पुरा गर्नुभएको छ।
इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै बाइडनले राष्ट्रपति पदको सम्पुर्ण औपचारिकता पुरा गरेका हुन्। गएराति देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन्।

योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ। जितले औपचारिकताको आधिकारिकता पाएसँगै आगामी २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ।
गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रयाट उम्मेदवार पूर्व उपराष्ट्रपति बाइडेनले ३ सय ६ र उनका रिपब्लिकन प्रतिष्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाएका थिए।
यद्यपी राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै सम्पुर्ण ढोका बन्द हुँदा पनि हार स्वीकार गरेका छैनन्। नवनिर्वाचित राष्ट्रपति बाइडेनले अब २०२१ को जनवरी २० मा भब्य समारोहकाबीच पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हाल्ने छन्।
