अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको प्रमाण : पौडेल
काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको प्रमाण भएको बताएका छन् । संविधानको मूल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकूल मानिस भर्ने कुत्सित मनसायले अध्यादेश जारी गरिएको पनि उनले बताएका छन् । मंगलबार सामाजिक संजालमा उनले यस्ता कार्यको आफूले घोर विरोध गर्दछु भनेर लेखेका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम भएको भन्दै नेता निधिले यसले संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण गरेको टिप्पणी गरेका छन् ।
निधिले लेखेका छन्, आज अचानक आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो । घोर भर्त्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेस नेताहरुले आपत्ती जनाएका छन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउसो बहुमत सदस्यको उपस्थितिमै परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश जारी गरेकि हुन् ।