सुदूरपश्चिममा ओली समूहका २ नेतालाई ‘अनैतिक आचरण’ गरेको भन्दै कारवाही !

धनगढीः नेकपा सुदूरपश्चिम प्रदेश समितिले २ जना नेतालाई नैतिक आचरण विपरित कार्य गरेको भन्दै कारवाही गरेको छ।
आफुहरुको समूह नै आधिकारिक रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव खेमा अन्तरगतको सो समितिले नैतिक आचरण विपरित कार्य गरेको भन्दै २ जनालाई ६ महिनाको लागि पद मुक्त गर्ने निर्णय गरेको हो।

नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता भीम रावलले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद समेत रहेका नेकपा कैलाली अध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य रहेका कञ्चनपुरका महेश पन्तलाई निलम्बन गरेको बताए।
शुक्रबार बसेको नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकको निर्णयलाई सार्वजनिक गर्दै नेता रावलले भने,“कैलाली जिल्लाको अध्यक्षको पदमा रहनु भएका रतनबहादुर थापाले पार्टी एकता र हित बिरुद्ध गतिविधि गर्नु भएकाले उहाँलाई नेकपाको अन्तरिम विधान २०७५ धारा ७६ को ९क० को १,२,३,४,५ र १४ बमोजिम अध्यक्ष पदबाट हटाउन कैलाली जिल्ला कमिटीले सिफारिस गरेकोले उहाँलाई पदबाट मुक्त गराउन केन्द्रमा सिफारिस गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ।”
कैलाली जिल्ला अध्यक्षको पद रिक्त भएको छ। पूर्व एमालेका अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीको कारवाही फुकुवा गरिएको समेत नेता रावलले खुलाए। तर केन्द्रीय समितिले जिल्ला अध्यक्षको जिम्मा समेत सोडारीलाई दिएको तर पद वहाली नभएको बताउँदै अध्यक्षका लागि केही काम बाँकी रहेको रावलले बताए।
पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारीलाई पनि यसअघि पार्टीको हित तथा आचरण विपरित कार्य गरेको भन्दै नेकपाले कारवाही गरेको थियो। जुन क्रममा उनले मन्त्रीको जिम्मेवारी गुमाउनु परेको थियो।
नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य महेश पन्तलाई पनि नैतिक आचरण बिरुद्ध कार्य गरेको उजुरी परेपछि प्रदेश कमिटीे सदस्य पदबाट मुक्त गरिएको बताए। उनको सदस्यता समेत ६ महिना निलम्बन गरिएको छ।
