सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री बोहराद्वारा राजीनामा

धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। हालै ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले पदबाट राजीनामा दिएका हुन्।
बोहराले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाउने घोषणा समेत गरेका छन्। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।

तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।
नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहरा यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका थिए।
उनले राजीनामा दिएसँगै सुदूरपश्चिममा ओली समूूहमा ७ जना प्रदेशसभा सदस्य खुलेका छन्।
