बहु प्रतीक्षित बोगटान सडक जोडिन डेढ किलोमिटर मात्र बाँकी

कर्ण चन्द / वैशाख १७
बहु प्रतीक्षित सहजपुर–बोगटान सडकको ट्र्याक जोडिन अब डेढ किलोमिटर मात्र बाँकी रहेको छ । ०४६ साल देखी चर्चामा रहेको डोटीको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा ठुलो सहजपुर–बोगटान सडकले यस पटक पूर्णता पाउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको बोगटान सडक जोडिन अब डेढ किलोमिटर बाँकी रहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
कैलालीको सहजपुर, बिनिगर, अत्तर काँडा, सिमचौर,चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर जोडिने छ । हाल बाँकी रहेको बडी केदार गाउँपालिका वडा नं ५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौरको सिमानामा सडक निमार्णको काम भइरहेको छ ।
बोगटान सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम समेत भइरहेको उक्त सडकको ट्र्याक जोड्ने काम जेठ भित्र सम्पन्न हुने कार्यालय प्रमुख खत्रीले बताउनु भएको छ । खत्रीले भने ‘यो ट्र्याक छिट्टै जोडिन्थ्यो डेढ किलोमिटर जति रक (बलियो चट्टान) लागेको छ, जेठ भित्र ट्र्याक जोड्ने कार्य सम्पन्न हुन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको बोगटान सडक खड्काकृष्ण, बगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरिरहेका छन् ।
बोगटान सडक जोडिएपछि बोगटान फुड्सिल, बडी केदार, केआईसिंह, जोरायल गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
