खेलकुद विकासको निम्ति सबै लाग्नुपर्छ : अध्यक्ष मलासी
तेजु ओली/ डोटी
जिल्ला खेलकुद कार्यालय डोटीको स्वरुप फेरीदैँ छ । जिल्ला खेलकुद विकास समिति डोटीका अध्यक्ष नरेश मलासीको पहलमा कार्यालयको स्वरुप फेरीन लागेको हो । केही महिना अघिसम्म मात्र अव्यवस्थित रहेको उक्त कार्यालयको स्वरूप मात्र फेरिएको छैन, खेलकुद क्षेत्रमा चहलपहल पनि सुरु भएको छ ।
खेल खेल्दा मान्छे शारिरीक तन्दुरुस्त हुने भएकाले खेल खेल्नु राम्रो रहेको जिल्ला खेलकुद विकास समिति डोटीका अध्यक्ष नरेश मलासीले बताउनु भयो । खेलकुद र खेलाडीकै माध्यमबाट आफु अध्यक्ष भएकोले डोटीलाई खेलकुदका माध्यमबाट चिनाउने गरि लाग्ने उहाँको भनाई छ । खेलकुद सबैका लागि भन्ने कुरालाई मनन् गर्दै पूर्वाधार विकास, खेल प्रशिक्षण लगाएतका काम प्रदेशसंग समन्वय गर्दै अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अन्य क्षेत्रको तुलनामा खेलकुदको क्षेत्रमा बजेट कम भएको बताउँदै अब स्थानीय सरकार समेत खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो । समितीले खेल क्षेत्रका पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा निरन्तर लाग्ने भन्दै थप विकासका लागि सबै लाग्नुपर्ने पत्रकार भेटघाटमा उहाँले बताउनु भयो ।