बझाङमा टेलिफोन सेवा अवरुद्ध
थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दसैं अगाबै सञ्चालनमा आउने

शिवजी मण्डेल / बझाङ
लगातारको वर्षका कारण बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । असार महिना सुरु भएदेखि टेलिफोन सेवा अवरुद्घ भएको हो । सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरूमा बर्खायाम सुरुभएयता घाम नलाग्ने भएकोले चार्ज नहुँदा उक्त समस्या आएको हो। जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूले इन्टरनेट सेवाको कुरा त कहाँ हो कहाँ हामीले अति आवश्यक काम परेको बेलामा खबर आदानप्रदान गर्नलाई फोन समेत गर्न नपाएको गुनासो गरेका छन् ।
यसरी लामो समयसम्म टेलिफोन सेवा अवरुद्ध हुँदा नेपाली दाजुभाइ आमाबुबा परदेशमा गएका छन् उनीहरूको हालखबर के कस्तो छ भनी कुराकानी र सोधपुछ गर्न नपाएको छबिस पाथिभेरा गाउँपालिका ७ नौराका इन्द्र धामीले बताए । त्यस्तै थलारा गाउँपालिकामा निकै टेलिफोन सेवाको समस्या रहिआएको छ । मौसम सफा भएमात्र अलिअलि फोन गर्नसम्मको टावर आउने र मौसममा अलिकति पनि खराबी आए टावर आउनै छोड्ने गरेको स्थानीय शेरबहादुर रोकायाले बताए ।

थलारा गाउँपालिका ७ माडौँकाट्नेमा निर्माण भइरहेको नेपाल टेलिकमको 4G टावर भने एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयको गुनासो रहेको छ । पोहोर सालकै दसैं तिहारमा सञ्चालनमा आउँछ भनेतापनि अहिलेसम्म सञ्चालनमा नआउँदा अब कहिले टावर सञ्चालनमा आउँछ भन्ने स्थानीय जनताको प्रश्न पनि रहेको छ । वर्षौंदेखि टेलिफोन सेवाको समस्या भोक्दै आएका स्थानीयहरू आफ्नो ठाउँमा नेपाल टेलिकमको 4G टावर बन्ने थालेपछि निकै हर्षित भएका थिए । अहिलेसम्म टावर सञ्चालनमा नआउनु सरकारवालाहरूको कमजोरी भएको पनि उनीहरू बताउने गरेका छन् ।

यसबारेमा नेपाल टेलिकमबाट टावर निर्माण देखि चलाउन जिम्मा पाएका सिसिएसआइ का क्षेत्रीय म्यानेजर ओम महरा सँग सोधपुछ गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भनेकै समयमा सञ्चालनमा ल्याउन नसकेको बताए । कोरोना भाइरसले विश्वका अधिकांश देशहरूमा लकडान भएकोले सामानहरू बिदेशबाट ल्याउन पर्ने भएकाले ढिलाइ भएको उनले बताएका छन् ।

अहिले सामान नेपालमा आइपुगे पनि फेरि बर्खाको समय भएकोले जताततै सडक अवरुद्ध छन् । त्यसकारणले समान टावरसम्म पुर्याउन नसकिने अवस्था भएको छ । सडक खुल्ने बितिकै समान ल्याएर जडान गरिने र दसैंसम्म 4G टावर सञ्चालनमा आउने नेपाल टेलिकमबाट जिम्मा पाएका (ccsi) का क्षेत्रीय म्यानेजर महराले बताउनुभयो ।
यसअघिनै टावर निर्माण र द्धन् सञ्चालनका लागि दोगाडे बयस खोला लघु जलविद्युत सँग सम्झौता भइसकेको छ ।
त्यस्तै यता बझाङका नेपाल टेलिकमका निम्ति कार्यलय प्रमुख बम बहादुर सिंहका अनुसार बझाङमा जम्मा १९ वटा नेपाल टेलिकमका टावरबाट सेवा प्रवाह भइरहेको छ । बुङ्गल नगरपालिका र थलारा गाउँपालिकामा एकएक गरि २ वटा टावर निर्माणाधीन अवस्थामा रहेका छन् ।
अहिले जिल्लामा ३ वटा टावरमा मात्रै विद्युत जडान गरिएको र बाँकी १६ वटा टावर सोलारबाट सञ्चालनमा आएका छन् । मौसममा खराबी आइ घाम नलाग्नेभएको र सोलारले चार्ज लिन नपाएपछि अहिले जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकमका नि प्रमुख सिंहले बताए । उनले भने घाम नलागेसम्म यो समस्या समाधान हुन नसक्ने र हामी छिटोभन्दा सबै टावरहरूमा विद्युत लाइन जडान गर्ने प्रयासमा रहेका छौँ ।
