भ्रष्टाचार नियन्त्रणका लागि युवा वर्गको महत्वपूर्ण भूमिका

तेजु ओली, डोटी
भ्रष्टाचार न्यूनीकरणमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि युवावर्गको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । आज भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था बासको आयोजना तथा बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा डोटी बहुमुखी क्याम्पस डोटीमा आयोजित कार्यक्रममा स्नातक तहका विद्यार्थीलाई भ्रष्टाचार नियन्त्रण एवम् न्यूनीकरणका विविध पक्षबारे जानकारी गराइएको थियो।
भ्रष्टाचारले नेपाली समाज ग्रसित बनिरहेको बताउँदै यसलाई समाजबाटै निर्मूल गर्नुपर्ने आवश्यकता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले औँल्याउनुभयो । न्युनिकरणको लागि सबै तहतप्का बाट हातेमालो गरेर कम गर्न सकिने बताउदै आफु जिल्ला प्रशासन कार्यालयको सुचना अधिकारी समेत रहेकोले जानकारी गराइदिन अनुरोध समेत गर्नु भएको थियो।

कार्यक्रममा पत्रकार रामहरी ओझाले राज्यमा सुशासन कायम हुन नसक्दा भ्रष्टाचारयुक्त देशको सूचीमा नेपाल परेको बताउँदै विद्यार्थी तथा युवावर्ग यसको अन्त्यका लागि जागरुक बन्नुपर्ने बताउनुभयो । उहाँले जवाफदेहिता, पारदर्शिता, कानूनको शासन, समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दान बहादुर मल्लले विद्यालय तहदेखि नै समाजमा सुशासन कायम गर्न सहयोग पु¥याउने किसिमका पाठ्यक्रम राख्नु आवश्यक भएको बताउँदै संस्थागतरुपमै भ्रष्टाचार हुने प्रवृत्तिले दिनप्रतिदिन जटिलता निम्त्याएको बताउनुभयो । क्याम्पस प्रमुख दिलान्नद जोशीले अभिमुखीकरणले बिस्तारै जनमानसमा भ्रष्टाचार विरुद्धको सचेतना अभिवृद्धि गर्ने बताउनुभयो । विद्यार्थी भविष्यमा गएर समाजका अभिन्न अंग भएकाले गलत र सहि छुटाएर गलत गर्नेलाइ कानुनको दायरामा ल्याउनु सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थी, भ्रष्टाचार नियन्त्रणमा काम गर्ने संस्थाका प्रतिनिधि, निमिम्त प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो।
