
माघ ७, धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशहरुमा विगतको तुलनामा विकास निर्माण र ऐनकानुन निर्माणले गति लिन नसकेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको स्थापना दिवसको अवसरमा आज धनगढीस्थित प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेशहरुमा मुख्यमन्त्री, मन्त्री र सरकार बन्ने कामले मात्र गति लिएको टीप्पणी गरे ।
‘मुख्यमन्त्री बन्ने, सरकार बन्ने र मन्त्री बन्नेमा मात्र प्रदेशहरुले गति समातेको छ, अरु कुनै काममा गति समातेको छैन’ भट्टले भने, ‘यसमा केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वले सोँच्नुपर्छ ।’ प्रदेश तहले काम गर्न नसक्दा प्रदेशमाथि उठ्ने प्रश्नले बल पाइरहेको उनले बताए ।

शून्यबाट काम सुरु गर्नुको चुनौतीबीच काुनन र विकास निर्माणमा अहिलेको भन्दा संस्थापक प्रदेश सभा र सरकारले बढी काम गरेको भट्टले दावी गरे ।
‘सुरुमा हामीसँग कानुन थिएन, संरचना थिएन, अनुभव थिएन, कर्मचारी थिएनन् । सरकार कुन कोठाबाट सञ्चालन गर्ने भन्ने समस्यामा थियौँ’ भट्टले भने, ‘जानेर–नजानेर, अनुभवको कमी, सिस्टमका कारण केही कमजोरी भएको हुनसक्छ तर कानुन निर्माण, विकास निर्माण र सबैसँग सहकार्य गरेर अगाडि बढ्ने गतिमा योभन्दा पहिलेको संसद, योभन्दा पहिलेको सरकार मजबुद तरिकाले अगाडि बढेको थियो, यो सबैले महसुस गरेको कुरा हो ।’
त्यसबेला सरकारले पहिलो र दोस्रो वर्षलाई कानुन वर्ष निर्माणको वर्षको रुपमा अगाडि सारेर २४ वटा कानुन निर्माण गरेको उनले स्मरण गरे । सबैसँग सहकार्य गरेर जाने सन्दर्भमा पनि अहिलेको सरकार कमजोर देखिएको उनको भनाइ थियो । सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य, समन्वय गरेर जाने विगतको कडी अहिले टुटेको उनले दावी गरे । कानुन निर्माण र साझा विषयमा विगतमा सदन एकमत भएर जाने गरेको उनले बताए ।
