
२६ पुष, डोटी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ७६ मतदान स्थल कायम भएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक हजार एक सय ७६ मतदान स्थलमा दुई हजार एक सय ९९ मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई सय ३७ मतदान स्थलमा रहेका ६ सय ४१ मतदान केन्द्र रहेका छन् । यस जिल्लाको निर्वाचन क्षेत्र १ मा ४५ स्थल, एक सय २६ केन्द्र, २ मा ५१ स्थल, एक सय २४ केन्द्र, ३ मा ४५ स्थल, एक सय २७ केन्द्र, ४ मा ५७ स्थल, एक सय ३६ केन्द्र्र र क्षेत्र ५ मा ३९ स्थल र एक सय २८ केन्द्र रहेका छन् । यस जिल्लामा जम्मा पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।
तीन निर्वाचान क्षेत्र रहेको कञ्चनपुर जिल्लामा एक सय ३२ मतदान स्थल रहेका छन् । यि स्थलहरुमा तीन सय ६० केन्द्र कायम भएका छन् । कञ्चनपुरको जम्मा मतदाता संख्या तीन लाख १३ हजार तीन सय ८५ मतदाता रहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा ५२ मतदान स्थलमा एक सय २२ मतदान केन्द्र, २ मा ४३ मतदान स्थलमा एक सय २३ केन्द्र र क्षेत्र–३ मा ३७ मतदान केन्द्र र एक सय १५ मतदान केन्द्र रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जल्ला अछाममा एक सय ४० मतदान स्थल र दुई सय १३ मतदान केन्द्र रहेका छन् । यस जिल्लाको जम्मा मतदाता एक लाख ६५ हजार तीन सय ३७ रहेका छन् । अछाम निर्वाचन क्षेत्र–१ मा ५७ मतदान स्थलमा एक सय पाँच केन्द्र तोकिएका छन् भने क्षेत्र–२ मा ७३ मतदान स्थलमा एक सय आठ केन्द्र रहेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेका प्रदेशका ६ पहाडी जिल्लाहरुमध्ये बैतडीमा एक सय २९ मतदान स्थल र दुई सय १४ मतदान केन्द तोकिएका छन् । यस जिल्लामा जम्मा एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् । बझाङमा एक सय ३७ मतदान स्थल रहेका छन् । यस जिल्लामा एक सय ८९ मतदान केन्द्र रहेका छन् । बझाङमा एक लाख २६ हजार नौ सय मतदाता रहेका छन् । डोटी जिल्लामा एक १८ मतदान स्थलमा एक सय ८० मतदान केन्द्र निर्धारण भएका छन् । यस जिल्लामा एक लाख १२ हजार तीन सय ९९ मतदाता रहेका छन् ।
बाजुरा जिल्लामा ८७ हजार ८ सय ६१ मतदाताका लागि ७७ मतदान स्थल तोकिएको छ । यि स्थलहरुमा एक सय १८ मतदान केन्द्र रहेका छन् । दार्चुला जिल्लामा ९२ हजार नौ सय ४८ मतदाताले मत हाल्न पाउने गरी एक सय १२ मतदान स्थलमा एक सय ४३ मतदान केन्द्र राखिएका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले २०४८ लाखदेखि निरन्तर रुपमा चुनाव लड्दै र जित्दै आएको डडेल्धुरा निर्वाचन क्षेत्रमा एक सय चार मतदान स्थल र एक सय ४१ मतदान केन्द्र कायम भएका छन् । यस जिल्लामा ९३ हजार चार सय तीन मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए ।

महिला मतदाता बढी
निर्वाचन आयोगले सार्वजनिक गरेको कुल मतदाताको संख्यामा महिलाको संख्या कम भएपनि सुदूरपश्चिम प्रदेशमा महिला मतदाताको संख्या बढी देखिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका कुल १७ लाख १६ हजार ६ सय ६० मतदाताहरुमध्ये आठ लाख ६४ हजार चार सय २३ महिला रहेका छन् । पुरुष मतदाताको संख्या आठ लाख ५२ हजार दुई सय १९ रहेको छ । यस आधारमा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या १२ हजार दुई सय चार रहेको छ । यस प्रदेशभित्रका अछाम निर्वाचन क्षेत्र–२, बाजुरा, बैतडी बझाङ, दार्चुला र डडेल्धुरा निर्वाचन क्षेत्रमा महिला मतदाताको संख्या कम छ भने अन्य जिल्ला निर्वाचन क्षेत्रमा बढी रहेको छ । यस प्रदेशमा २० जना अन्य मतदाताहरु रहेका छन् ।
निर्वाचन आयोगले पुष १२ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार देशभरीमा पुरुष ९६ लाख, ६३ हजार तीन सय ५८ पुरुष र ९२ लाख ४० हजार एक सय ३१ महिला मतदाता रहेका छन् । देशभरीमा अन्य मतदाताको संख्या दुई सय रहेको छ भने देशभरीका कुल मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६ सय ८९ रहेको छ । यस आधारमा पुरुष मतदाता भन्दा महिला मतदाता चार लाख २३ हजार दुई सय २७ ले कम छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन हुने दिनको अघिल्लो दिन अर्थात् फागुन २० गतेसम्म १८ बर्ष पुरा गर्ने व्यक्तिलाई समेत समावेश गरी मतदाता नामावली तयार गरेको छ ।
