सात जिल्लामा कोरोना सँक्रमण शून्य
काठमाडौं, भदौ २९
देशका बिभिन्न सातवटा जिल्ला हरुमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा छन् भने पाँच सयभन्दा माथि सङ्क्रमित उपचाररत रहेका जिल्ला सातवटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित सङ्ख्या ५५ हजार ३२९ पुगे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३९३ मात्र रहेका र बाँकी कोरोनामुक्त भइसकेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार ५७६ पुगेको छ ।
यस्तै पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् । प्रवक्ता गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार २७५ जना रहेको बताउनुभयो । त्यस्तै संस्थागत आइसोलेसनमा आठ हजार ११८ जना छन् भने सोमबार आईसीयूमा १७९ जना र भेन्टिलेटरमा २९ जना सङ्क्रमित उपचाररत छन् । यसैगरी काठमाडौँ उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना गरी कुल ५१२ जनामा सङ्क्रमण देखिएको हो । योसँंगै काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या १२ हजार २४८ पुगेको छ । काठमाडौँमा १० हजार २६, ललितपुरमा एक हजार १९० र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमित भएका छन् ।