
नर बहादुर कार्की, डोटी

प्रकृतिको नियम, मौसम बदलियो । बुधबार रातिदेखि एक सुरले बर्षन शुरु भयो झरी । त्यो रातमा आफ्नै तालमा झरिरह्यो झरी । त्यो झरीमा आफ्नै हालमा सुतिरह्यो रात । झरी र रातको आआफ्नै लय, गति र सुर थियो । बिस्तारै रात बित्दै गयो । अध्याँरोले डाँडो काट्यो । रात बिउँझियो । बिहानीले दैलो उघार्यो । चर अचर बिउँझे । बिहान भयो र पनि झरी रोकिएको थिएन । एका बिहानै, ’जलमग्न धनगढी’ समाचार आयो । पानीको शीरक गुटुमुटु ओढिरहेका सडकहरुको फोटो फिचर सामाजिक सञ्जालमा छायो । पानीसँगै हुइकिएका सवारी साधनका भिडियोहरु पोष्ठिए । समाचारसँगै हरेक तहतप्काबाट अनेक क्रिया तथा प्रतिक्रिया आए । कसैले सावधान रहन भने । कसैले पानी निकास गर्न भने । कसैले तमासा हेरे । कोही अचम्मित भए त कोही मौन रहे । अनेक दृश्यहरु छाए । दशैं पर्वको आगमनले मेरो पनि दुईचार दिनको बसाइँ यतै थियो । मेरो बसाइँ रहेको धनगढी उपमहानगरपालिकाको वडा छ खासै जलमग्न थिएन । कसैको घरगोठमा पानी गएको थिएन । कसैलाई गाह्रो अप्ठ्यारो भएको खबर थिएन । तर पनि समुन्द्रजस्ता फोटो फिचर र सागरजस्ता समाचारहरुले पूरै धनगढी जलमग्न थियो । भिडियोहरुमा त झनै महासागरको झै बर्णन थियो । बजार डुबेजस्तो लाग्थ्यो । बजारको अवस्था हेर्न मन लाग्यो । मैले गुरुजीलाई फोन लगाएँ । “गुरु कता हो ?” “घरमै छु ।” “फुर्सद छ ?” “किन र सर ?” “बजार जाऊँ न ।” “काम छ कि ?” “घुमघाम ?” “आएँ ।” “चाडोँ आउनू ।” “तुरुन्त पुगेँ ।” मैले फोन राखेँ । साइकिल चढेर पाँच मिनेटमै गुरुजी आए । दुबै जना मटियारीबाट भट्टी, जाँइ हुँदै लभ्लीचोक पुग्यौं । लभ्ली चोकबाट केही दक्षिण पश्चिमतिर पुग्न नपाउँदै घुडासम्मको डुबान थियो । छल्याम् छल्याम्….गर्दै अटोरिक्सा र बाइक कुदिरहेका थिए । सकिनसकी साइकिलका टायरहरु घुमाइरहेका थिए साइकिलवालाहरु । घुडाँसम्म पाइन्टका बाहुलाहरु समेट्दै पाइला चालिरहेका थिए पैदलवालाहरु । केही पैदलवालाहरु एक हातमा छाता र अर्कोहातमा जुत्ता बोकेर हिडिरहेका थिए । लब्ली चोकदेखि पिपल चौतारासम्मको क्षेत्र साचिक्कै समुन्द्रजस्तो थियो । त्यसमा पनि पिच बन्दै गरेको सडकले अस्तवब्यस्तता थपेको थियो । जलमग्न बाटो हुँदै हसनपुरको पिपल चौतारा पुग्यौं । चौताराबाट कभर्डहलको बाटो भएर पार्कमोड पुग्यौं । पार्कमोडको पूर्व पश्चिम दुवैतिरको सडक जलमग्न थियो । जामाबाउले जमेको पानीमा अटो रिक्सा, जीप, कार, मोटर साइकिलहरु लडिबुडी खेल्दै हुइकिरहेका थिए । पार्कमोडबाट एलएन चौक हुदै कैलाली पुलसम्म पुग्यौं । कैलाली खोला पनि पानीको बहाब बढेर मातिरहेको थियो । छेउछाउमा रहेका कमजोर संरचनाहरु निमिट्न्न पार्दै बहिरहेको थियो कैलाली खोला । हाम्रो यात्रा रातोपुल, बसपार्क हुँदै चौराह पुग्यो । नालाको उचित निकास नहुँदा वडा नम्बर दुई र तीनका धेरै क्षेत्रहरु जलमग्न थिए । नेशनल ट्रेडिङ हाउस, बिधुत् कार्यालय, मुख्य बजार, मिलन चोक, विशाल नगरका केही क्षेत्रहरु समुन्द्र बनेका थिए । बसपार्कको उत्तर पश्चिमी क्षेत्रका केही पसल र घरहरु जलमग्न थिए । धेरैको घरको भूइँतलामा पानी भरिएको थियो । पानी निकासको यथोचित व्यवस्था नहुदाँ एक झर वर्षा हुने बित्तिकै यसरी पानीमा डुब्न थालेका थिए घरहरु । बाढीले हुनेखानेलाई भन्दा पनि साँझ बिहान ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने, अव्यवस्थित, अस्तव्यस्त जीवनशैली भएकालाई बढी प्रभाव पारेको देखिन्थ्यो । घर डुबानमा परिरहेका मध्ये कोही मलिन अनुहार लिएर घरको छतमा बसी महासागरको त्यो दृश्य औल्याइरेका थिए । कोही पानीमै यत्रतत्र कुदिरहेका थिए । कोही नालामा जमेका फोहर तथा अबरोधहरु हटाइरहेका थिए । केही पिच बनेका शाखा सडकहरुमा पानी बग्न बनाएका होलहरु बन्द हुँदा ताल जमेका थिए । केही नालाहरु फोहरको डङ्गुरले अबरुद्ध थिए । मनमानी सडकमा थुपारिने फोहरले पनि डुवानको समस्या झनै बल्झिएको थियो । यस्तो कठिन परिस्थितिमा भए पनि उनीहरूमा कतै गएर यसबारे बताउन सक्ने जाँगर थिएन । राज्यको जनताप्रतिको उदासिनता र लाचारपना देखेर स्थानीयहरु चकित थिए । जलमग्न घरपरिवारका सदस्यहरु बेचैन थिए ।
घरभित्र रहेका अनाजहरु भिजेर नष्ट भई खाद्यान्नको अभाव हुन सक्छ । खेतबारीमा भएका धानबाली, सागतरकारी नष्ट हुन सक्छन् । बस्तुभाउ पालेका भए मर्न सक्छन् । भवन, सडक, पुलहरु हरुमा क्षति पुग्न सक्छ । साना ठूला भौतिक क्षति हुन सक्ने प्रसस्त सम्भावनाहरु रहन्छन् । संकटको बेला झनै संकट पार्न खुला सीमानाको फाइदा उठाउँदै भारतबाट अन्धाधुन्ध लुटेराहरु नेपाल प्रवेश गरी चोरी आतंक मच्चाउन सक्छन् । त्यसैले यस्ता कतिपय सम्भावित जोखिमहरुबाट बच्नका लागि अपनाउनु पर्ने सतर्कता र जनजीविको सुरक्षाको सवालका विषयमा पनि सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । मनमनै सोचिरहेको थिएँ । “सर, डुबान समस्याको दीर्घकालिन समाधान सम्भव छैन र ?“ अकस्मात् गुरुजीले प्रश्न सोधे । “छ । तर यसका लागि एक्लो प्रयासले भने सम्भव छैन । यसका लागि प्रत्येक घरबाट हरेक सहरबासीको सहयोग अभियान चलानु पर्छ । सहरको समस्या समाधानमा हरेक नागरिकलाई प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्न लगाउनु पर्छ । स्थानीय, प्रदेश, संघ तीन ओटै तहका सरकारको साथ, सहयोग र समर्थन चाहिन्छ ।“ मैले भनेँ । “पानी निकासका लागि धनगढी उपमहानगरपालिकाले नालामा रहेका अबैध संरचना भत्काएको हल्ला थियो त सर । अझै डुबानको समस्या उस्तै छ त ?“ गुरुजीले जिज्ञासा राखे । “राम्रो काम । तर बर्षाैदेखि चुनौती रुपमा रहेको डुबान समस्या नालामा रहेका केही संरचना भत्काउदैमा मात्र समाधान हुने होइन । यसको लागि सम्बन्धित पक्षसँगको बृहत् छलफल, बहस र सहकार्य आबश्यक छ । केही स्थानका नालाहरुमा तटबन्धन गर्नुपर्ने पनि हुन सक्छ । कसैको घरबास नै उठ्ने अवस्था आइहाल्यो भनेपनि मानवीयताका हिसावले थोरै भएपनि राहतको व्याबस्था गर्नु पर्ने हुन सक्छ । झट्ट हेर्दा कमजोरी नाला अतिक्रमण गर्नेहरुको देखिन्छ । तर तत्कालिन सरकार, प्रशासन र सरोकार वालाहरुले कडा निग्रानी गर्दै नाला अतिक्रमण गर्नै नदिनु पर्ने हो । त्यसो हुन सकेन । उल्टै सम्बन्धित पक्षहरुनै अतिक्रमणकारीसँग मिलेका खबरहरु आइरहेका छन् । त्यसैले कमजोरी शासन, प्रशासनको पनि छ त्यसमा । यी सम्पूर्ण पक्षहरुलाई मध्यनजर गर्दै योजनाबद्ध ढङ्गले समस्या समाधानको लागि पहल गर्दा उत्तम हुन्छ ।“ मैले भनेँ । “यात डुबान नहुन झरी पर्नु भएन ।“ गुरुजीले भने । “डुबानको समस्या बर्षाको झरी होइन गुरु । सहरमा ढलनिकासको राम्रो व्यावस्थापन हुन नसक्नु डुबानको समस्या हो । हरेक जन्तु तथा वनस्पतिको जीन्दगी जोगाइदिने झरीको के दोष ? प्रकृतिको नियम हो वर्षा हुन्छ । कहिले बढि हुन्छ त कहिले कम । होइन र ?“ “ठिकै हो । नाला व्यावस्थापन भयो भने झरी धनगढीको समस्या होइन, सुन्दर धनगढी निर्माणमा सहायक बन्न सक्छ ।“ “हो…। त्यपछि त धनगढीकी झरी, सुकिरहेका फूलहरुलाई पुर्नजीवन दिने सहेली बन्ने छ । सडकभरि उडिरहेको धुवाधुलो छपछपाउने बयली बन्ने छ । बालीनालीकी सहकारिणी सङ्गी बन्ने छ । सर्वदा मानव जीवन सिंचाइ गर्ने छ र सिंचित जनजीवन रङ्गीचङ्गी बन्ने छ ।” मैले थपँे । “अनि त्यो दिन जलमग्न धनगढी हुने छैन । धनगढीमग्न जल हुनेछ ।” गुरुजीले थपे । एकक्षण दुबै जना मौन रह्यौ । साइकिल अलि स्पिडले कुदायौं । कथाले नयाँ मोड लियो ।
लेखक : के.आई.सिंह-४, वायलका स्थानीयवासी हुन् । उनी साहित्यका बिविध विधामा कलम चलाउछन् ।
