
गणेश मौनी
जेठ २७, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारामा बाल क्लबका सदस्यहरूका लागि आयोजना गरेको दुई दिने नायक पुस्तक तालिम शनिवार सम्पन्न भएको छ । बालबालिका उत्थानशील विकास परियोजना अन्तरगत समान पहुँच विकास केन्द्र डोटी र यु एम एन डोटीको आयोजना तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।

बालबालिकाहरूले आफ्नो एक आदर्श व्यक्तिको पहिचान गरी उनीहरूको सकारात्मक गुण र व्यवहारहरू आफ्नो जीवनमा अनुसरण गर्दै भावी लक्ष्य निर्धारण गर्न उत्प्रेरणा जगाउने उद्देश्यले तालिमको आयोजना गरेको समान पहुँच विकास केन्द्र डोटीका बालबालिका उत्थानशील परियोजना संयोजक नरेन्द्र रोकायाले बताउनु भयो ।
तालिममा बाल अधिकारको बारेमा जानकारी, आदर्श व्यक्ति पहिचान, नायक पुस्तकको अर्थ र अवधारणा, भावी लक्ष्य निर्धारण, लक्ष्य प्राप्तिको लागि आफूसँग भएको सबल पक्षको विश्लेषण गरी लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कर्महरूका बारेमा छलफल गरिएको समेत संयोजक रोकायाले बताउनु भयो ।
तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २,३,५ र ६ का १९ जना बालबालिकाहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण युएमन डोटी क्लष्टरका परियोजना व्यवस्थापन सुरेन्द्र राईले गर्नुभएको थियो ।
