
डोटी : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बारे बोगटान फुड्सिल गाउँपालिकाले समीक्षा गरेको छ । सोमबार बिहान गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख लगायतका सरोकारवाला बिच समीक्षा बैठक बसेको हो ।
बैठकले भर्खरै प्रकाशित एसईइ (कक्षा १०) को नतिजा सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ । साथै आगामी शैक्षिक सत्रमा नतिजा सुधार गर्नको ठोस कदम चाल्नु पर्ने बताइएको छ । गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले एसईईको नतिजा सुधारका लागि कार्य योजना बनाएर जाने बताएका छन् ।

अध्यक्ष गड्सिलाले व्यक्ति, समाज र देशकै लागि शिक्षा अपरिहार्य रहेकाले शिक्षामा सुधार गर्नका लागि गाउँपालिका भरि शैक्षिक अभियान चलाउने बताए । नतिजा कमजोर देखिनुमा सरोकारवाला सबैको कमीकमजोरी देखिएकाले आ–आफ्नो कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्ने अध्यक्ष गडसिलाले बताए ।
२०७९ मा एसईई परीक्षा दिएका गाउँपालिका भरिका जम्मा विद्यार्थीमा सम्पूर्ण विषयमा १ दशमलव ६ जिपिए भन्दा बढी ल्याएर पास हुने ७ जनामा मात्रै रहेका छन् । गाउँपालिकाको यस्तो नतिजा आएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
