बालविवाह रोक्न उमेर पुगेपछि बिहे गर्नेलाई सम्मान

२६ फागुन, डोटी
२० वर्ष नपुगी गरिने विवाहलाई नेपालको कानुनले मान्यता दिएको छैन । मुलुकी अपराध संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । तर २० वर्ष नपुग्दै गरिने विवाह (बालविवाह) रोकिएको छैन । बालविवाह रोक्न डोटीको एक वडाले उमेर पुगेपछि विवाह गर्ने जोडिलाई सम्मान गर्न थालेको छ ।

जोरायल गाउँपालिका वडा नम्बर ६ ले उमेर पुगेपछि विवाह गर्ने वडाका युवायुवतीलाई सम्मान गर्न सुरु गरेको छ । गत जेठ ३१ गते वडा कार्यालयले २० वर्ष पुगेपछि विवाह गर्नेहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा वडाले शुक्रवार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी एक जोडीलाई सम्मान गरेको छ । जोरायल गाउँपालिका–६ सित्तोली माइती घर भई विवाह गरी बैतडी जिल्लाको मेलौली नगरपालिका–३ कुजागाड जानुभएकी २६ बर्षिया कमला बोहराको जोडीलाई सम्मान गरिएको वडा अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिनुभयो ।

Sayalb

बोहरा सम्पत्तिलाई टीका, खँदा, मायाको चिनो र केही नगद सँगै सम्मान पत्र सहित सम्मान गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो । ‘नव जोडीको हामी माइती प¥यौ त्यसैले उहाँहरूको सहजताको लागि गाडी भाडा स्वरूप ४ हजार एक सय २५ नगद पनि दिएका हौँ ।’
दण्ड सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान गर्ने कार्यक्रमको सुरुवात गरिएको वडाले बताएको छ । वडाको सम्मान कार्यक्रमले बालविवाह रोकिने विश्वास वडा अध्यक्ष बोहराको छ । अध्यक्ष बोहराले भन्नुभयो, ‘हामीले सम्मान गर्ने कार्यक्रम ल्याएपछि अन्य दुई जोडिले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयभित्रै सम्मान गर्नेछौँ ।’

वडाको यो कदमलाई अन्य सङ्घसंस्थाले पनि साथ दिएको छ । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताउनुभयो ।

Shaileshwori
Loading...