जेठ ३०, डोटी
डोटीको सिलगढीमा डोटेली भाषा, कला साहित्यको संरक्षणका लागि बौद्धिक बहस कार्यक्रम गरिएको छ । बुधवार मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीको समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान कैलालीको सह–आयोजना बहस कार्यक्रम गरिएको हो । तत्कालीन डोटी गौणाको इतिहास मेटिँदै गएको र डोटेली भाषा लोप हुन लागेको भन्दै त्यसको संरक्षणको आवश्यकता महसुस गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा डोटेली भाषा र कला साहित्य सम्बन्धी कार्यपत्र डोटी बहुमुखी क्याम्पस सिलगढीका अध्यापक फणेन्द्र बहादुर साउदले प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा खुला छलफल गरिएको थियो ।
पछिल्लो समय डोटेली भाषाको अस्तित्व मेटिने अवस्थामा पुगेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीका उपकुलपति डा. टिएन जोशीले बताए । नेपालमा सबैभन्दा बढी बोलिने भाषा मध्येको डोटेली भाषालाई २०७८ को जनगणनामा नियोजित रूपमा कम देखाउने काम भएकाले त्यसको विरुद्धमा यस्ता कार्यक्रमको आयोजना गर्नु परेको उनको भनाइ छ । डोटेली भाषा एउटा डोटी जिल्लाको मात्रै नभएर तत्कालीन डोटी राज्यको भएकाले सुदूर पश्चिमका अन्य पहाडी जिल्लामा बोलिने भाषा पनि डोटेली रहेको जोशीले बताए ।
भाषा एक पुस्तामा रहेको संस्कृति, ज्ञान, सिप, अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा माध्यम भएकाले भाषा मासिँदै जानु पुर्खामा भएको ज्ञान, संस्कृति, अनुभव हराउनु रहेको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए । भाषा कालान्तरमा गएर मर्ने भए पनि सांस्कृतिक रूपमा जीवित रहनु पर्ने उनको भनाई छ । उनले भाषालाई स्थापित गर्न होडबाजी चलेको बताए । उनले भने, ‘अहिले भाषालाई जिल्लासँग जोडेर नामकरण गरिएको छ हामीले जनगणनामा स्थापित गरेका छौँ । तर त्यो भाषा हुनलाई उहाँले त्यो भाषा बोल्नु हुन्छ की हुन्न ? भाषा स्थापित गर्न त्यसको व्याकरण, शब्द भण्डार चाहियो, त्यसमा साहित्य लेख्नु प¥यो र त्यसलाई मान्यता दिनुपर्यो ।’
भाषामा भाषिका हुने कुरा स्वाभाविक रहेको डा. सुवेदीको भनाई छ । भाषा बोल्ने नभएर भाषिका बोल्ने बताए । डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा बोलीले भाषीका भएकाले ती भाषीकाबाट प्रतिनिधिमूलक छानेर डोटेली भाषा स्थापित गर्नु पर्ने उनले बताए ।
डोटेली भाषा बोल्ने मान्छेसँग सबैले कुरा नै नगर्ने गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । यो ठाउँबाट विभिन्न व्यक्ति पदमा पुगेको भए पनि डोटेली भाषाको संरक्षणको लागि कसैले पनि आवाज नउठाएको उनले बताए । प्रमुख सिंहले अध्ययनकर्तालाई गाउँ गाउँमा गएर भाषाको खोजी गर्न आग्रह गरे । गाउँमा रहेका भाका उमेर समूहका व्यक्तिहरूले बोल्ने भाषाबाट धेरै कुराको अध्ययन गर्न सकिने प्रमुख सिंहको भनाइ छ ।
डोटेली भाषाको संरक्षणका लागि आउने जनगणना आउनुपुर्व नै धेरै काम गर्नु पर्ने चुनौती रहेको मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढी अध्यक्ष केशव नाथ योगीले बताए । यो अवधिमा व्याकरण बनाउने, शब्द भण्डार बनाउने लगायतका काम हुन नसकेमा डोटेली भाषा खण्डीकरण भएर जाने योगीले बताए । भाषा खण्डीकरण भएमा सुदूरपश्चिमको देउडा संस्कृति पनि खण्डीकरण हुने उनको भनाइ रहेको थियो ।
यस्तै कार्यक्रममा सुदूरपश्चिमको मौलिक लोक संस्कृति, डोटेली भाषा, साहित्य एवं कलाको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्याएको भन्दै दश जनालाई सम्मान गरिएको थियो ।