
डोटी । बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा गाउँपालिका स्तरीय बोगटान प्रिमियर लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको मुख्य प्रयोजनमा र बोगटान युवा सञ्जालको संयोजन तथा सहकार्यमा बोगटान कार्तिक १ गतेबाट प्रतियोगिता सञ्चालन हुन लागेको छ ।
दोस्रो चरणको बिपिएल प्रतियोगिताका लागि असोज ३० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने युवा सञ्जालका महासचिव समीर केसीले बताए । दर्ता शुल्क रु. तीन हजार पाँच सय तोकिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोह कार्तिक १ गते बिहान ७ बजे, बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को तोलिवन स्थित नवनिर्मित गाउँपालिका स्तरीय खेलमैदान हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार र मेडल तथा उपविजेताले रु. ३० हजार र मेडल प्राप्त गर्ने सञ्जालका महासचिव केसीले बताएका छन् । साथै उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले नगद तीन हजार पाँच सय र मेडल, उत्कृष्ट ब्याट्सम्यानले रु.दुई हजार र मेडल, उत्कृष्ट बलरले रु. दुई हजार र मेडल तथा म्यान अफ द म्याचले रु. पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आइसिसी को मापदण्ड अनुसार एलबीडब्लू बाहेकका नियमहरू लागू हुने जनाइएको छ ।
