
तेजबहादुर डुम्रेल
असार २५, कैलाली । सुदूरपश्चिममा पहिलो पटक सहकारी अनुसरण सम्बन्धी ३ दिने तालिम कैलालीमा सम्पन्न भएको छ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बबरमहल काठमाडौँको सहयोग तथा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ धोविघाट, ललितपुरको आयोजनमा अत्तरियास्थित नमस्ते होटेलमा तालिम सम्पन्न भएको हो । आइतबार बाट सुरु भई मङ्गलवार सम्पन्न भएको तालिममा सुदूरपश्चिम सहित सप्तरी, डोल्पा लगायतका १० संस्थाका ४० जनाको सहभागी रहेको थियो ।
साना किसान विकास लघु वित्त वित्तीय संस्थाका केन्द्रीय मुख्य प्रबन्धक लिलाधर धितालले तालिमको उद्घाटन गरेका थिए । तालिममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अनुसरण कार्यक्रम प्रमुख कपिल गौतम, साना किसान सहकारी गेटा कैलालीका मुख्य प्रबन्धक नृप खड्का, साना किसान कृषि सहकारी मालाखेतीका मुख्य प्रबन्धक गोरख बहादुर खत्री, अनुसरण सहजकर्ता सरोज तिमल्सिना, नीर बहादुर अधिकारी, गङ्गा प्रसाद पंगालि लगायतका प्रशिक्षकहरूले प्रशिक्षण दिएको नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका फिल्ड संयोजक सौरभ थापाले बताए ।

तालिममा कृषि सहकारी सञ्चालक र सहकारीका कर्मचारीहरू सहभागी भएका थिए । लगनशील महिला साना किसान कृषि सहकारी सायल–५ देवारमाण्डु डोटीकी व्यवस्थापक प्रमुख डोल्मा खड्काले तालिम महत्त्वपूर्ण रहेको बताइन् ।
त्रिपुरा सुन्दरी साना किसान सहकारी डोल्पाका उपाध्यक्ष ज्ञान बहादुर बुढाले कृषि सहकारी सम्बन्धी तालिम जीवन उपयोगी रहेकोले अब ज्ञान सीप गाउँ टोलमा फैलाउने बताए । बान्निगढी साना किसान कृषि सहकारी संस्था अछामका अध्यक्ष पदम बहादुर शाहले तालिम जीवन निर्वाहमुखी, आर्थिक अवस्था र सामाजिक अवस्थामा सुधार केन्द्रित सहकारी शिक्षा भएको बताए ।
