

भदौ ११, सिलगढी । डोटीको सदरमुकाम सिलगढीमा जलवायु न्याय सम्बन्धी सन्देशमूलक नाटक प्रदर्शन गरिएको छ । मङ्गलवार दिपायल सिलगढी–४ मा रहेको स्वतन्त्र युवा सञ्जालको आयोजना तथा सम विकास केन्द्र नेपाल, एक्सनएड नेपाल र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा शैलेश्वरी मन्दिर प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो । मष्टा जात्रा र डोल जात्राको अवसर पारि नाटक प्रदर्शन गरिएको आयोजकले बताएको छ ।
नाटकमा युवा सञ्जालद्वारा वातावरण स्वच्छ र सफा राख्नु पर्ने, प्लास्टिक जन्य पोहोर मैलाको व्यवस्थापन र यसको प्रयोगमा रोक हुनु पर्ने, पानीका मुहान संरक्षण सन्देश दिइएको छ ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्य रहेको नाटक प्रदर्शन कार्यक्रममा वडा अध्यक्षहरू, जिल्ला प्रशासन कार्यालय डोटी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रतिनिधिहरू सहित मष्टा जात्रा हेर्न आएका भक्तजनहरूको उपस्थित रहेको थियो ।

