असोज ८, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको जनाइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्र अनुसार डोटी जिल्लाको इन्चार्जको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको छ । यसअघि डोटी इन्चार्जको भूमिकामा प्रदेश सांसद शिव सिंह ओली थिए ।
कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, अछाममा शरदसिंह भण्डारी, दार्चुलामा लक्ष्मणदत्त जोशी र बझाङमा मीनबहादुर कुँवरलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। यसअघि कैलालीमा हरि ज्ञवाली, डडेल्धुरामा जगत पार्की, अछाममा झपट साउद, दार्चुलामा लक्ष्मी विक इन्चार्जको जिम्मेवारीमा थिए ।
६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै इन्चार्जहरू यथावत् छन् । यस अगाडिदेखि नै कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशव) र बैतडीमा नरेन्द्र बहादुर कुँवर इन्चार्ज थिए । उनीहरू यथावत् छन् ।