
पुस २८, डोटी । बोगटान फुड्सिल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ शनिवार चवराचौतारामा सम्पन्न भएको हो । गाउँपालिकाले यश आर्थिक वर्षका लागि ४४ करोड ६ लाख ७ हजार तीन सय ९० रुपैयाँको बजेट विनियोजन गरेकोमा ८७.३१ प्रतिशत खर्च गरेको थियो ।
कार्यक्रममा गाउँपालिकाको वार्षिक प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले गरेका थिए । प्रस्तुतीकरण क्रममा चन्दले आर्थिक वर्षमा ३१ लाख राजस्व उठाउने लक्ष्य राखिएकोमा २१ लाख ६६ हजार २ सय ८ रुपैयाँ २२ पैसा आन्तरिक राजस्व उठेको बताए । जसमा वडा नम्बर १ बाट दुई लाख १ हजार २ सय २० रुपैयाँ, वडा नम्बर २ बाट ६० हजार ७ सय ४४ रुपैयाँ २८ पैसा, वडा नम्बर ३ बाट १ ला ७१ हजार ८ सय ९२ रुपैयाँ ७९ पैसा, वडा नम्बर ४ बाट १ लाख ५९ हजार २ सय ३५ रुपैयाँ, वडा नम्बर ५ बाट १ लाख ९ हजार पाँच ८६ रुपैयाँ, वडा नम्बर ६ बाट १ लाख ३७ हजार ६ सय ८२ रुपैयाँ, वडा नम्बर ७ बाट १ लाख ४२ हजार १ सय ७० रुपैयाँ २८ पैसा र गाउँपालिकाबाट ११ लाख ८३ हजार ६ सय ७७ रुपैयाँ ८७ रुपैयाँ सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आउने सबै खाले प्रश्न गाउँपालिकाको लागि सिकाइ साबित हुने उपाध्यक्ष बिष्ना देउवा बमले बताइन् । उपाध्यक्ष बमले लोकतन्त्रमा हरेक नागरिकले कार्यालयको गतिविधिको बारेमा जानकारी पाउनु पर्ने र कार्यालयका गतिविधि जबाफदेही र पारदर्शी हुनुपर्ने भएकाले सोही अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको बताइन् ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न र सुझावलाई आत्मसात् गर्दै जाने बताएका छन् । अध्यक्ष गड्सिलाले जनता भन्दा जनप्रतिनिधि ठुलो हुन नसक्ने बताउँदै प्राप्त सुझा र रचनात्मक खबरदारीले पालिकालाई पारदर्शी र सुशासनमय बनाउन मद्दत पुग्ने बताए । आगामी दिनहरूमा पनि खबरदारी र रचनात्मक सुझाव दिन उनले नागरिकलाई आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले पालिकाको स्वास्थ्य, शिक्षा, कृषि, सडक, बत्ती, रोजगार लगायतका विषयमा प्रश्न गरेका थिए थिए भने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय, वडा अध्यक्ष तथा विषयगत शाखा प्रमुखहरूले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण मुलुक कम्युनिकेसन डोटीले गरेको थियो ।
