
वैशाख २४, डोटी । सेती नदी–६ (एसआर–६) जलाशययुक्त परियोजनाको डिपिआरको अनुगमनका लागि भारतीय कम्पनीको टोली परियोजना स्थलमा पुगेको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका स्थित निर्माणको चरणमा रहेको परियोजनाको डिपिआर अनुगमनको लागि भारतीय सरकारबाट जिओलोजिकल सर्भे अफ इन्डियाका डाइरेक्टर नितु चौहान, एनएचपिसी कम्पनीका परियोजना प्रमुख प्रकाश चन्द्र उपाध्याय तथा एसआर–६ परियोजनाका महाप्रबन्धक अजय बर्मा सहितको टोली पुगेको बोगटान फुड्सिल गाउँपालिकाले जनाएको छ ।
४५० मेगावाट क्षमता रहेको जलाशययुक्त आयोजनाको हाल विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को कार्य चलिरहेको छ । यो परियोजना निर्माण कार्य भारतीय कम्पनी एनएचपिसीले गरिरहेको छ । अनुगमनको लागि बोगटान फुड्सिल गाउँपालिकामा पुगेको टोलीको गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले स्वागत गरेको छ । अनुगमन टोलीको स्वागत गर्दै पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले परियोजना निर्माण कार्यमा जुनसुकै किसिमको सहयोग गर्न पालिका तयार रहेको बताए ।

गाउँपालिकाले गरेको प्रतिबद्धता र स्वागतकाको लागि जिओलोजिकल सर्भे अफ इन्डियाका डाइरेक्टर नितु चौहानले धन्यवाद व्यक्त गरिन् ।

