
लाल बहादुर चदारा
जेठ १८, अछाम । अछामको मेल्लेख गाउँपालिका-५ बिन्धेबासनी स्थित मेल्लेख स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविर सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको दुई दिने निःशुल्क आँखाको शल्यक्रिया शिविर सोमवार सम्पन्न भएको हो । वडा नम्बर ५ बिन्धेबासिनीको व्यवस्थापन तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय प्रालि र श्री कृष्ण आँखा अस्पताल प्रालिको संयुक्त प्राविधिक सहयोग र मेल्लेख गाउँपालिकाको आयोजनामा निःशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।
शिविरमा एक हजार चार सय ४९ जनाले सेवा लिएका छन् ।जसमध्ये आँखामा समस्या अर्थात् मोतीबिन्दु भएका ९९ जना पुरुष र ५१ जना महिला गरि एक सय ५० जनाको विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा आँखाको शल्यक्रिया गरिएको डाक्टर अर्जुन श्रेष्ठले बताएका छन् । त्यस्तै एक सय १७ जनालाई चस्मा वितरण र अन्यलाई आवश्यक औषधि समेत वितरण गरिएको च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यक्रम संयोजक अनिल न्यौपानेले जानकारी दिए ।

शिविरको जेठ १८ गते मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सीँ साउदले उद्घाटन गरेका थिए ।उद्घाटनमा बोल्दै अध्यक्ष साउदले मेल्लेख गाउँपालिकाले शिविरहरू मार्फत पालिकाका नागरिकलाई गाउँ घरमै नि:शुल्क स्वास्थ्य उपचार तथा चेक जाँच र आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको अवगत गराउँदै मेल्लेखका नागरिकलाई उपचारको लागि टाढा जानुपर्ने बाध्यतालाई हटाएको बताएका छन् ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले धेरैजसो बासिन्दा आर्थिक र भौगोलिक कारणले आँखाको उपचारका लागि बाहिर जान नसक्ने अवस्था बुझेर गाउँमै विशेषज्ञ टोली ल्याएर सेवा उपलब्ध गराएको बताएका छन् ।
यसै गरी मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले शिविरमा खटिएका स्वास्थ्यकर्मीहरूको कार्यप्रति सन्तोष व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
