बोगटान फुड्सिल गाउँपालिकाको आव २०८१/८२ को वित्तीय प्रगति ८५.७७ प्रतिशत
निकासाको आधारमा ९२ दशमलव ६५ प्रतिशत बजेट खर्च

असार ३०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आय–व्यय तथा भुक्तानी सम्बन्धी वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ गतेसम्मको विवरणलाई आधार बनाई गाउँपालिकाले विवरण सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षमा प्रस्तावित बजेटको ८५ दशमलव ७७ प्रतिशत र निकासाको आधारमा ९२ दशमलव ६५ प्रतिशत बजेट खर्च गरेको छ । आव २०८१/८२ मा गाउँपालिकाको प्रस्तावित बजेट ४३ करोड ९२ लाख रहेकोमा ४० करोड ६५ लाख ८६ हजार छ सय दुई रुपैयाँ चालिस पैसा निकासा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम बहादुर बोगटीले बताएका छन् । निकासा भएको बजेटमा ३७ करोड ६७ लाख ४१ हजार नौ सय ३४ रुपैयाँ ९५ पैसा खर्च भएको उनले बताए ।
चालु खर्चका लागि प्रस्तावित बजेट ३२ करोड ४३ लाख ८५ हजार सात रुपैयाँमध्ये ३१ करोड ३ लाख ४७ हजार तीन सय सात रुपैयाँ ४० पैसा आर्जन गरिएको छ । त्यसमध्ये २८ करोड ४६ लाख २० हजार चार सय ५९ रुपैयाँ ६३ पैसा (प्रस्तावित बजेटको ८७.७४ प्रतिशत र आम्दानीको ९१.७१ प्रतिशत) खर्च भएको गाउँपालिकाका लेखा प्रमुख मीन बहादुर चन्दले बताए । त्यस्तै पुजिगत बजेट तर्फ प्रस्तावित बजेटको आधारमा ८० दशमलव २३ प्रतिशत र आम्दानीको आधारमा ९५ दशमलव ७२ प्रतिशत खर्च भएको लेखा प्रमुख चन्दले बताए । पुजिगत तर्फ ११ करोड ४८ लाख १४ हजार नौ सय ९३ रुपैयाँ प्रस्तावित बजेटमा नौ करोड ६२ लाख ३९ हजार दुई सय ९५ रुपैयाँ आम्दानी भएको थियो । जसमा नौ करोड २१ लाख २१ हजार चार सय ७५ रुपैयाँ ३२ पैसा खर्च भएको छ ।

गाउँपालिकाले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

